११ जेठ, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आगामी जेठ १५ गते आयोजना हुने गणतन्त्र दिवस सैनिक मञ्चको मूल समारोहमा सम्बोधन नगर्ने भएका छन् ।
विगतका वर्षहरूमा गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले नै विशेष सम्बोधन गर्ने स्थापित अभ्यास रहँदै आएकोमा यस पटक प्रधानमन्त्री शाहले आफ्नो तर्फबाट सम्बोधन नगर्ने निर्णय लिएका हुन् । उनले सो समारोहमा आफैँ नबोली राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिनका लागि औपचारिक पत्राचार समेत गरिसकेका छन् ।
सिंहदरबार स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट पठाइएको उक्त पत्र राष्ट्रपतिको कार्यालय, शीतल निवासमा पुगिसकेको छ । प्रधानमन्त्रीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन गर्नका लागि आग्रह गर्दै पत्राचार गरेको बुझिएको छ । प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पनि राष्ट्रपतिसमक्ष सम्बोधनका लागि अनुरोध गर्दै पत्र पठाइएको विषयलाई पुष्टि गरेकी छन् ।
प्रधानमन्त्री शाह निर्वाचित भएर सरकारको नेतृत्व सम्हालेयता सार्वजनिक मञ्च तथा औपचारिक कार्यक्रमहरूमा नबोल्ने र मौन रहने शैली अपनाउँदै आएका छन् । यसअघि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि संसद्मा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव प्रस्तुत गर्दा समेत उनले रोस्टममा उभिएर कुनै मन्तव्य नदिई सिधै सभामुखसमक्ष प्रस्ताव पेस गरेका थिए ।
यस्तै, नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् बैठक नै अवरुद्ध गरेका थिए । पछि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिएपछि प्रतिपक्षको अवरोध र बहिष्कारबिच नीति तथा कार्यक्रम पारित गरिएको थियो ।
पछिल्लो समय प्रधानमन्त्रीको यो कार्यशैली र संसद्प्रतिको उदासिनतालाई लिएर प्रमुख प्रतिपक्षसहितका राजनीतिक दलहरूले संसद्मा लगातार विरोध जनाउँदै आएका छन् । प्रतिनिधि सभा नियमावली बमोजिम प्रधानमन्त्रीले प्रत्येक महिना सांसदहरूसँग गर्नुपर्ने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन सभामुख डोलप्रसाद (डीपी) अर्यालले बालुवाटार पुगेर समय माग गर्दा समेत प्रधानमन्त्री बालेनले ‘उपयुक्त समयमा आएर जवाफ दिने’ जबाफ फर्काएका थिए ।
संसद् र सार्वजनिक समारोहहरूमा प्रधानमन्त्री बालेनको यो निरन्तरको मौनता र अनुपस्थितिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।


















