११ जेठ, काठमाडौं । आफ्नो सांगठनिक मेरुदण्डका रूपमा रहेको क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई तीव्र बनाउन नेपाली कांग्रेसले देशव्यापी रूपमा ुहेभीवेटु नेताहरूलाई मैदानमा उतारेको छ ।
कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आकस्मिक बैठकले सातै वटा प्रदेशको सांगठनिक कमान्ड सम्हाल्ने गरी केन्द्रीय पदाधिकारी तथा प्रभावशाली केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारीसहित कार्यक्षेत्रमा खटाउने निर्णय गरेको हो । पार्टीभित्र संगठन सुदृढीकरणको बहस चलिरहेका बेला चालिएको यो कदमलाई कांग्रेसले आगामी चुनावी रणनीतिको प्रारम्भिक तयारीका रूपमा हेरेको छ ।
पार्टीका युवा नेता एवं सदस्यता व्यवस्थापन समितिका सभापति प्रदीप पौडेलको अध्यक्षतामा बसेको उक्त महत्त्वपूर्ण बैठकमा पार्टी महामन्त्री गगन थापाको समेत विशेष उपस्थिति रहेको थियो। बैठकले सातै प्रदेशका लागि इन्चार्ज तोक्दै कोसी प्रदेशको जिम्मेवारी डा. डिला संग्रौलालाई सुम्पेको छ भने मधेस प्रदेशमा देवराज चालिसे र बागमती प्रदेशको कमान्ड बहादुरसिंह लामालाई सुम्पिएको छ ।
त्यसैगरी, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिम प्रदेशको सांगठनिक कमान्ड सम्हाल्ने जिम्मेवारी पूर्वमन्त्री समेत रहेका उदयशमशेर राणालाई दिइएको छ ।
कांग्रेसका कार्यवाहक कार्यालय सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय प्रतिनिधिहरूलाई केवल अनुगमनका लागि मात्र नभई तल्लो तहसम्म पुगेर सदस्यता वितरण र अद्यावधिकमा देखिएका प्राविधिक तथा राजनीतिक उल्झन सुल्झाउने विशेष कार्यादेश (टीओआर) सहित खटाइएको हो ।
साङ्गठनिक शिथिलता चिर्न र पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउँदै डिजिटल अद्यावधिकलाई गति दिन यी कमान्डरहरूले प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरूसँग समन्वय गरी तत्कालै काम सुरु गर्नेछन् ।
प्रतिपक्षमा रहेको कांग्रेसले आफ्नो परम्परागत शक्तिलाई ब्युँताउन ग्राउन्ड लेभलबाटै सुरु गरेको यो सक्रियताले पार्टीभित्र र बाहिर नयाँ तरङ्ग पैदा गरिदिएको छ ।




















