Logo

१२ जेठ, माडी (चितवन) । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाले चितवनको माडीस्थित बसन्तपुरमा बीमा सचेतना, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

माडी नगरपालिका वडा नं. ५ र ७ का टोल विकास संस्था, माडी बहुमुखी क्याम्पस तथा स्थानीय समुदायका प्रतिनिधिहरू सहभागी कार्यक्रममा जीवन बीमाको आवश्यकता, यसको महत्व तथा भविष्य सुरक्षाबारे छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदीले बीमाले नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको बताए । उनले यस्ता सचेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा बीमाप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने धारणा राखे ।

माडी नगरपालिका वडा नं. ५ का अध्यक्ष गणेश घतानेले समाजमा घर तथा सम्पत्तिको बीमालाई प्राथमिकता दिइए पनि व्यक्तिगत जीवन बीमाप्रति अझै पर्याप्त चेतना अभाव रहेको उल्लेख गरे । वडा नं. ७ की अध्यक्ष चन्द्राकुमारी बानियाँले बीमा सम्बन्धी जनचेतना विस्तारका लागि स्थानीय तह सहकार्य गर्न तयार रहेको बताए ।

सामाजिक अगुवा भागिरथ बस्यालले आकस्मिक जोखिम तथा घातक रोगको उपचारमा बीमाले आर्थिक सहारा दिने भएकाले जीवन बीमाको महत्व सबैले बुझ्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा होमस्टे संघ नेपाल बागमती प्रदेश उपाध्यक्ष जितबहादुर चापागाईं लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख व्यवसाय अधिकृत शिवकुमार कार्की तथा नारायणगढ शाखा प्रमुख गोकर्णबहादुर कार्कीले बीमाका फाइदा, आवश्यकता र भविष्य सुरक्षाका विषयमा सहजीकरण गरेका थिए ।

करीब ७० जना सहभागी रहेको कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर लक्ष्मी लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सभापतित्व सिटिजन लाइफ माडी टिम प्रमुख स्वस्तिका नेपालले गरेकी थिईन् । कार्यक्रमको सञ्चालन एमडीआरटी तथा सिनियर एजेन्सी म्यानेजर लक्ष्मण गौतमले गरेका थिए ।


सम्बन्धित समाचार