१२ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अमरेशकुमार सिंह ले उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सिंहले चिनी मिलहरूले अझैसम्म उखु किसानको भुक्तानी नगरेको भन्दै किसानलाई तत्काल रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले सरकारले उपलब्ध गराउने अनुदान रकम समेत किसानहरूले प्राप्त गर्न नसकेको उल्लेख गर्दै सो रकम पनि शीघ्र उपलब्ध गराउन आग्रह गरे।
सांसद सिंहले रोपाइँको सिजन सुरु हुन लाग्दा पनि किसानहरूले पर्याप्त मल नपाएको भन्दै आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
त्यस्तै उनले बरहथवा नगरपालिका का वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा बागमती नदीको कटान तीव्र बन्दै गएको उल्लेख गर्दै करिब ५० हजारभन्दा बढी नागरिक विस्थापित हुने जोखिममा रहेको बताए। उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरे।




















