१२ जेठ, काठमाडौं । संघीय राजधानी काठमाडौँलाई मकवानपुरको चित्लाङ हुँदै हेटौँडासँग जोड्ने छोटो र महत्त्वपूर्ण मार्ग थानकोट–चन्द्रागिरी–चित्लाङ सडक खण्ड दुई साताका लागि पूर्ण रूपमा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै यस सडक खण्डको निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्र र प्रभावकारी रूपमा सम्पन्न गर्न १४ दिनका लागि सवारी आवागमन रोक्ने निर्णय गरेको हो । कार्यालयले चन्द्रागिरी र थाहा नगरपालिकालाई पत्राचार गर्दै आगामी जेठ १७ गतेदेखि ३० गतेसम्म पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्डमा यातायातका साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी गराएको छ ।
हाल यस सडकखण्डमा सडक चौडा गर्ने, भित्तो काट्ने, ढलान गर्ने तथा अन्य प्राविधिक सुधारका कार्यहरू द्रुत गतिमा भइरहेका छन् । भौगोलिक रूपमा अत्यन्तै जटिल, साँघुरो र जोखिमयुक्त मोडहरू रहेका कारण गुडिरहेका सवारीसाधनकै बीचमा काम गर्दा निर्माण कार्य प्रभावित हुनुका साथै ठुलो दुर्घटनाको समेत जोखिम बढेकाले यस्तो कडा कदम चाल्नुपरेको सडक डिभिजन कार्यालयले स्पष्ट पारेको छ ।
यात्रु तथा निर्माण कार्यमा खटिएका मजदुरहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै निर्धारित समयमै काम सक्नका लागि सडक पूर्ण रूपमा बन्द गर्नुको विकल्प नरहेको प्राविधिकहरूको भनाइ छ ।
सडक बन्द रहने यस अवधिमा सो मार्ग भएर आवतजावत गर्ने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । दुवै स्थानीय तह, प्रहरी प्रशासन र सम्बन्धित निकायहरूसँग समन्वय गरी वैकल्पिक मार्गको व्यवस्थापन तथा अन्य आवश्यक सहजीकरणको तयारी भइरहेको छ ।
यातायात बन्द हुँदा सर्वसाधारण र व्यवसायीलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै सडक डिभिजन कार्यालयले राष्ट्रिय गौरवको यो मार्ग छिटो सम्पन्न गर्न स्थानीय बासिन्दा, यातायात व्यवसायी र सर्वसाधारण सबैलाई रचनात्मक सहयोग पुर्याउन अपिल गरेको छ ।


















