१२ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना सांगठनिक गतिविधि र प्रचारप्रसारलाई थप एकरूपता दिनका लागि नयाँ आन्तरिक नियम लागू गरेको छ ।
पार्टीको कोशी प्रदेश कमिटीले एक विशेष परिपत्र जारी गर्दै अबदेखि मातहतका जुनसुकै तहमा आयोजना हुने औपचारिक कार्यक्रमहरूमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको हो । पार्टीभित्र अध्यक्ष साम्पाङको विचार र श्रम अभियानलाई मुख्य सिद्धान्तका रूपमा स्थापित गराउने उद्देश्यले यो निर्णय लिइएको बुझिएको छ ।
कोशी प्रदेशका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा संयुक्त रूपमा हस्ताक्षरित उक्त निर्देशन पत्रमा प्रदेश मातहत रहेका सम्पूर्ण जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोल कमिटीहरूलाई सचेत गराइएको छ ।
पार्टीले आयोजना गर्ने जुनसुकै सभा, सम्मेलन वा कार्यक्रमका ब्यानर तथा अन्य प्रचारप्रसारका सामग्रीहरूमा ‘श्रम पिता’ का रूपमा सम्बोधन गरिएका अध्यक्ष साम्पाङको तस्बिर अनिवार्य राख्नुपर्ने र यो नियमलाई कडाइका साथ पालना गराउनुपर्ने वक्तव्यमा उल्लेख छ ।
धरान उपमहानगरपालिकाका प्रमुख समेत रहनुभएका हर्क साम्पाङले श्रम संस्कृतिलाई मुख्य राजनीतिक मुद्दा बनाएर यो पार्टी अघि बढाउनुभएको हो । पार्टी स्थापनाको छोटो समयमै सांगठनिक संरचना निर्माणमा जुटेको यस दलले आफ्ना शीर्ष नेताको तस्बिर र व्यक्तित्वलाई नै ब्राण्डिङ गरेर जनतामाझ जाने रणनीति बनाएको संकेत यस निर्णयले गरेको छ ।
प्रदेश कमिटीको यो निर्देशनसँगै अब कोशी प्रदेशका सबैजसो क्षेत्रमा हुने पार्टीका गतिविधिमा अध्यक्ष साम्पाङको उपस्थिति विना पनि उनको तस्बिर भने केन्द्रीय आकर्षण बन्ने देखिन्छ ।




















