Logo

१२ जेठ, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानु का संयोजक एवं विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

पर्सा जिल्ला अदालतमा उहाँविरुद्ध दायर भएको मुद्दामाथि आज (मंगलबार) भएको थुनछेक बहसपछि अदालतले प्रसाईंलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उहाँलाई थुनामा राखिरहनु नपर्ने ठहर गर्दै मुद्दाको किनारा नलागेसम्मका लागि तारेखमा राखेरै कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिएको अदालत स्रोतले पुष्टि गरेको छ ।

अदालतको यो आदेशसँगै प्रसाईंविरुद्ध परेको मुद्दामा अब उहाँले थुनाबाहिरै रहेर पुर्पक्ष गर्न पाउने कानुनी बाटो खुलेको छ । उहाँमाथि लागेको आरोप र दर्ता भएको मुद्दाको गम्भीरतालाई ध्यानमा राख्दै न्यायाधीश रेग्मीको इजलासले दुवै पक्षको बहस सुनेपछि न्यायिक हिरासतमा राख्नु नपर्ने निष्कर्ष निकालेको हो ।

अदालतको यस निर्णयसँगै उहाँका समर्थकहरूले राहत महसुस गरेका छन् भने अनुसन्धान अधिकारीहरूले अब तारेखमै राखेर बाँकी प्राविधिक तथा कानुनी अनुसन्धानलाई निरन्तरता दिने भएका छन् ।


सम्बन्धित समाचार