Logo

१२ जेठ,वीरगञ्ज ।राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद हरि पन्त ले आगामी आर्थिक वर्षको बजेटमा नारायणी रंगशालानारायणी अस्पताल लाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले मधेश प्रदेशको प्रमुख व्यापारिक शहर वीरगञ्ज ले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आए पनि विकास निर्माणका योजनामा निरन्तर उपेक्षामा परेको आरोप लगाए।

उनले दशरथ रंगशालापछिको ठूलो रंगशालाका रूपमा रहेको नारायणी रंगशालाको स्तरोन्नति तथा पुरानो र ऐतिहासिक नारायणी अस्पतालको सुधारका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरे।

सांसद पन्तले सानोपाइला सहकारी का बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया तत्काल अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए। बचतकर्ताहरू लामो समयदेखि आफ्नो रकम फिर्ताको प्रतीक्षामा रहेको उल्लेख गर्दै उनले समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताए।

त्यसैगरी उनले गण्डकदेखि वीरगञ्ज भन्सारसम्मको करिब पाँच किलोमिटर सडक क्षेत्रमा गरिएको संरचना हटाउने अभियानप्रति असन्तुष्टि जनाए। छोटो सूचना र स्पष्ट योजना बिना डोजर चलाउँदा करिब १ हजार २०० घरधुरी प्रभावित भएको र सयौं परिवार घरबारविहीन बनेको उनले बताए।

सांसद पन्तले वीरगञ्जको मुख्य बजार क्षेत्रमा देखिएको समस्यालाई बागमती किनारको अव्यवस्थित बस्तीको रूपमा मात्र नहेर्न आग्रह गर्दै प्रभावित नागरिकहरूको व्यवस्थापन र समस्या समाधानका लागि सरकारलाई तत्काल पहल गर्न माग गरेका छन्।


सम्बन्धित समाचार