Logo

१३ जेठ, वीरगञ्ज । नागरिकता सम्बन्धी लिखत किर्ते गरेको गम्भीर अभियोग लागेका वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह बुधबार पर्सा जिल्ला अदालतमा स्वयम् उपस्थित भएका छन् ।

अदालतबाट गत जेठ ८ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि कानुनी फन्दामा परेका मेयर सिंह बुधबार बिहान कार्यालय समय सुरु हुने बित्तिकै ९ बजे नै अदालत पुगेका हुन्। पक्राउ पुर्जी जारी भएपछि कूटनीतिक रूपमा कानुनी परामर्शमा रहेका सिंह फरार सूचीमा रहनुको सट्टा सिधै न्यायालयमा हाजिर हुन पुगेका हुन् ।

अदालत परिसरमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै मेयर सिंहले आफ्नो मुद्दामा म्याद जारी भएको कुरा सञ्चारमाध्यमहरूबाट थाहा पाएपछि न्यायिक प्रक्रिया र अनुसन्धानलाई सघाउन स्वेच्छाले अदालतमा हाजिर भएको दाबी गरे । “म कानुनको शासन र न्याय प्रणालीमा पूर्ण विश्वास राख्छु, कानुनी प्रक्रियालाई निष्पक्ष रूपमा सहयोग गर्न म कतै नलुकी आफैँ उपस्थित भएको हुँ,” सिंहले भने ।

यद्यपि, पक्राउ पुर्जी जारी भएपछि अदालत पुगेका मेयर सिंहको बयान र थुनछेक बहस भने आज बुधबार हुन सकेन । पर्सा जिल्ला अदालतमा आज अन्य मुद्दाहरूको अत्यधिक चाप, उच्च सङ्ख्यामा दर्ता तथा पेशी सूची रहेका कारण समय अभाव देखाउँदै उनको मुद्दामा सुनुवाइ स्थगित गरिएको अदालत स्रोतले जनाएको छ । अदालतले आज बुधबार उनको मुद्दालाई हेर्न नमिल्ने वा समय अभावमा राखेपछि मेयर सिंह अदालतबाट फर्किएका छन् ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले पनि अदालतमा मुद्दाको चाप अत्यधिक भएका कारण आज बुधबार सुनुवाइ र बयानको प्रक्रिया अघि बढ्न नसकेको पुष्टि गरे । अदालत स्रोतका अनुसार अब उक्त संवेदनशील मुद्दाको अर्को नयाँ मिति (तारीख) तोकिएपछि मात्र मेयर सिंहको बयान लिइने र त्यसपछि उनलाई थुनामा राखेर मुद्दा पूर्पक्ष गर्ने वा धरौटी/साधारण तारेखमा छाड्ने भन्नेबारे थुनछेक बहस सुरु हुनेछ ।


सम्बन्धित समाचार