Logo

१३ जेठ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा यतिबेला गम्भीर आन्तरिक विवाद, टिकट खरिद–विक्रीको आरोप र नेतृत्व संघर्षको केन्द्र बनेको छ । पार्टीका संस्थापक बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएपछि बारामा जारी वडा तथा जिल्ला अधिवेशन प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् ।

पार्टीभित्र संस्थापक समूह र निर्वाचित सांसदहरूबीचको शक्ति संघर्ष खुलेआम सतहमा आएको छ । एक पक्षले अर्कोलाई टिकट बेचेर पैसा उठाएको आरोप लगाइरहेको छ भने अर्को पक्षले संगठन कब्जा गर्न खोजिएको दाबी गरिरहेको छ । यही विवादका कारण पछिल्ला वडा तथा जिल्ला भेलाहरू समेत तनावग्रस्त बन्दै झडपसम्म पुगेका छन् ।

रास्वपा बारा जिल्ला संस्थापक सभापति चन्दन स्वर्णकारमाथि कारबाही हुनुको मुख्य कारण बाराका चार वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूले पार्टी केन्द्रीय कार्यालयमा दिएको लिखित उजुरी रहेको बताइएको छ । सांसदहरूले स्वर्णकारले हालै सम्पन्न निर्वाचनमा पार्टीका उमेदवारलाई हराउन भूमिका खेलेको र स्थानीय तहको टिकट बिक्री गरेर विभिन्न व्यक्तिबाट रकम उठाएको आरोप लगाएका छन् ।

तर स्वर्णकारले भने आफूलाई योजनाबद्ध रूपमा फसाएर निष्कासन गरिएको आरोप लगाएका छन् । उनले उल्टै बाराका तीन निर्वाचन क्षेत्रका उम्मेदवारहरूले पार्टीका शीर्ष नेताहरूलाई रकम बुझाएर टिकट लिएको सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

स्वर्णकारका अनुसार बारा क्षेत्र नम्बर १ का सांसद गणेश घिमालले समानुपातिकतर्फ ५० हजार रुपैयाँ र प्रत्यक्षतर्फ २५ हजार आवेदन शुल्क बुझाउनुका साथै शीर्ष नेताहरूलाई करिब २० लाख रुपैयाँ दिएपछि टिकट पाएका थिए ।

त्यसैगरी क्षेत्र नम्बर २ का सांसद चन्दन सिंहले टिकट लिने क्रममा करिब ५० लाख रुपैयाँ खर्च गरेको र क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले उम्मेदवारी दर्ताकै दिन १ करोड रुपैयाँ पार्टीलाई चन्दा बुझाएर टिकट लिएको आरोप उनले लगाएका छन् । उनले स्थानीय तहको उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूसँग समेत केही रकम “सहयोग” मागिएको स्वीकार गर्दै अहिले आफूलाई मात्र कारबाही गर्नु राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन् ।

“बारामा एकले अर्कोलाई पैसा उठाएको र शीर्ष नेतालाई बुझाएर टिकट ल्याएको आरोप लगाइरहेका छन् । तर निष्पक्ष छानबिन नगरिकन मलाई मात्रै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरियो,” कारबाहीमा परेका स्वर्णकारले बताए । उनका अनुसार अनुशासन आयोगले कुनै औपचारिक छानबिन नै नगरी गएको जेठ ६ गते आफूलाई कारबाही गरेको हो ।

आफ्नै आरोपको घेरामा रास्वपा नेतृत्व

पार्टीभित्र टिकट खरिद–विक्री भएको यति गम्भीर विषयमा कुनै स्वतन्त्र छानबिन नै नगरी, उल्टै टिकट खरिदकर्ता भनिएका सांसदहरूको कुरा मात्र सुनेर जिल्ला अध्यक्षलाई कारबाही गरिएपछि रास्वपा नेतृत्वमाथि नै गम्भीर नैतिक प्रश्न उठेको छ । “पुराना राजनीतिक दलका नेताहरूले टिकट बिक्री गर्छन्” भन्दै संसद् र सडकमा चर्को आलोचना गर्ने रास्वपाका शीर्ष नेताहरू आफैँ अहिले टिकट बिक्रीको गम्भीर आरोपको घेरामा परेका छन् ।

स्वर्णकार समूहका नेताहरूको भनाइअनुसार पार्टीका शीर्ष नेताहरूले आफूमाथि लागेको टिकट बिक्रीको गम्भीर आरोप र बदनामीबाट बच्नका लागि हतार-हतार जिल्ला संयोजक स्वर्णकारलाई कारबाहीको डन्डा चलाएका हुन् । सत्य तथ्य बाहिर आउने डरले छानबिनलाई पन्छाएर उल्टै उजुरीकर्ता सांसदहरूकै एकतर्फी रोहवरमा कारबाही प्रक्रिया अघि बढाइएको स्वर्णकार समूहको आरोप छ ।

रास्वपाको स्थापना प्रक्रियादेखि नै आफू सक्रिय रहेको दाबी गर्दै स्वर्णकारले २०७९ भदौ २९ गते रवि लामिछानेलाई पहिलोपटक मधेस प्रदेशको तर्फबाट बारा ल्याएर जिल्ला भेला सम्पन्न गरेको स्मरण गरे । त्यही भेलाबाट आफूलाई जिल्ला नेतृत्वको जिम्मेवारी दिइएको, उनको भनाइ छ । उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बाराका ४ निर्वाचन क्षेत्रमध्ये ३ क्षेत्रमा आफ्नो नेतृत्वमा उम्मेदवार खडा गरिएको र मधेस प्रदेशमै रास्वपाले सबैभन्दा राम्रो मत परिणाम बारा जिल्लाबाट ल्याएको दाबी गरेका छन् ।

तर २०८० को निर्वाचनपछि पार्टीभित्र टिकट वितरणलाई लिएर विवाद सुरु भएको उनी बताउँछन् । पार्टीको विधि अनुसार आवेदन शुल्क बुझाएर उम्मेदवार बन्न खोजेकाहरूलाई बेवास्ता गर्दै “जनकपुरबाट टिकट बिक्री भएको” आरोप उनले लगाएका छन् । २५ हजार रुपैयाँ आवेदन शुल्क बुझाएर उम्मेदवार बन्ने प्रक्रिया पूरा गरेका धेरै व्यक्ति अन्तिममा उम्मेदवार नबनेको र केन्द्रले संस्थापकहरूसँग समन्वय नगरी टिकट वितरण गरेको स्वर्णकारको आरोप छ ।

यता सांसद पक्षले भने स्वर्णकार स्वयंले स्थानीय तहको टिकट वितरणका नाममा आर्थिक चलखेल गरेको आरोप लगाएको छ । स्रोतका अनुसार स्थानीय तह निर्वाचनको तयारीसँगै वडादेखि पालिकासम्म टिकट दिलाइदिने आश्वासनमा रकम उठाइएको विवरण समेत केन्द्रीय कार्यालयमा बुझाइएको छ ।

अधिवेशनहरूमा तनाव र सांसदहरू कार्यक्षेत्रबाटै लखेटिए

विवाद चर्किंदै जाँदा पछिल्ला वडा तथा जिल्ला अधिवेशनहरू समेत तनावपूर्ण बनेका छन् । संस्थापक समूहले निष्पक्ष अधिवेशनको माग गरिरहेको छ भने सांसद निकट समूहले संगठन विस्तार प्रक्रिया अघि बढाइरहेको छ । जेठ १० गते आयोजित विस्तारित जिल्ला बैठकमा विवाद चरम अवस्थामा पुगेको थियो । कार्यक्रममै दुवै पक्षबीच भनाभन भएपछि झडपको अवस्था सिर्जना भएको र निर्वाचित सांसदहरू कार्यक्रमस्थलबाट बाहिरिन बाध्य भएका थिए ।

स्वर्णकार पक्षले सांसदहरूले “भाडाका मानिस” ल्याएर संगठन कब्जा गर्न खोजेको आरोप लगाएको छ । सांसद निकट पक्षले भने संस्थापक समूहले अधिवेशन बिथोल्न खोजेको प्रतिक्रिया दिएको छ । रास्वपाले पालिका तथा वडा अधिवेशनका लागि स्पष्ट कार्यविधि बनाएको भए पनि त्यसको पालना नभएको आरोप संस्थापक समूहको छ । उनीहरूले आवेदन प्रक्रिया नखोली बन्द कोठाबाट समिति चयन गरिएको भन्दै विरोध जनाइरहेका छन् ।

पार्टी नछाड्ने घोषणा र ‘RIGHT TO RECALL’ को चेतावनी

स्वर्णकारले आफूलाई पार्टीबाट निष्कासन गरिए पनि रास्वपा नछोड्ने स्पष्ट पारेका छन् । उनले भने, “प्राविधिक रूपमा मेरो नाम हटाइएको होला, तर बारा जिल्लाको संगठन हामीले बनाएका हौँ । अन्तिम समयसम्म यही पार्टीभित्र बसेर संघर्ष गर्छु ।” उनले पार्टी विधानमा रहेको ‘राइट टु रिकॉल’ को व्यवस्था प्रयोग गरेर निर्वाचित सांसदहरूविरुद्ध हस्ताक्षर अभियान चलाउने चेतावनीसमेत दिएका छन् ।

बारामा अहिले रास्वपाभित्रको विवाद केवल व्यक्तिगत टकरावमा सीमित छैन । यो विवादले पार्टीभित्रको संगठनात्मक संरचना, टिकट वितरण प्रक्रिया, आर्थिक पारदर्शिता र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएको छ । एकातर्फ नयाँ राजनीतिक शक्ति भनेर स्थापित भएको रास्वपाभित्र पुराना दलकै शैलीमा टिकट किनबेच र गुटबन्दी भएको आरोप उठिरहेको छ भने अर्कोतर्फ नेतृत्व कब्जाको संघर्षले जिल्ला संगठन नै विभाजनको संघारमा पुगेको देखिन्छ ।


सम्बन्धित समाचार