Logo

१३ जेठ, काठमाडौँ । आगामी स्थानीय तहको निर्वाचन आउन अब ११ महिना मात्र बाँकी रहँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना स्थानीय जनप्रतिनिधिहरूको विशेष राष्ट्रिय भेला बोलाएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बुधबारदेखि सुरु भई दुई दिनसम्म चल्ने उक्त भेलामा पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ । भेलाको मुख्य उद्देश्य जनप्रतिनिधिहरूको कार्यकालको समापन वर्षमा हालसम्म भएका कार्यप्रगतिको वस्तुनिष्ठ समीक्षा गर्नु, आगामी निर्वाचनको रणनीतिक तयारी थाल्नु र पार्टीले खेल्नुपर्ने भूमिकाबारे वैचारिक प्रशिक्षण दिनु रहेको छ ।

भेलाको उद्घाटन सत्रमा पार्टीका स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले विगतको कार्यप्रगति समीक्षा र आगामी रणनीतिक योजना समेटिएको विशेष प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

यो राष्ट्रिय भेलालाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने कार्यसूची तय भएको छ भने स्थानीय सरकार सञ्चालन र विकासका प्राथमिकताका विषयमा दुई जना विज्ञहरूले कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । विभाग प्रमुख सापकोटाका अनुसार यो भेला मुख्यतः आगामी ‘मिसन–८४’ को जग बलियो बनाउन र निर्वाचनको पूर्वतयारी स्वरूप आयोजना गरिएको हो ।

सापकोटाले आगामी स्थानीय तहको निर्वाचनमा वामपन्थी शक्तिहरूबीच चुनावी एकता र सहकार्य हुन सक्ने बलियो सम्भावना रहेको संकेत गरेका छन् । यद्यपि, उनले पहिलो प्राथमिकता आफ्नै पार्टी संगठनलाई सुदृढ बनाउनु रहेको र एमालेसँग तत्कालै पार्टी एकताकै तहमा पुग्ने गरी छलफल नभएको स्पष्ट पारे ।

जेनजी आन्दोलनपछि गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा २५ वटा वामपन्थी घटकहरूसँग गठबन्धन गरेर चुनाव लडेको नेकपा १७ सिटसहित चौथो स्थानमा खुम्चिएको थियो ।

यसअघि २०७९ सालको स्थानीय निर्वाचनमा साविकको माओवादी केन्द्र र एकीकृत समाजवादीले कुल १४२ स्थानमा प्रमुखरअध्यक्ष र १५१ स्थानमा उपप्रमुख÷उपाध्यक्ष जितेर तेस्रो शक्ति बनेका थिए। निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपाले आफ्ना जनप्रतिनिधिहरूलाई चुनावी कमान्डरका रूपमा मैदानमा उतार्ने गरी यो आन्तरिक गृहकार्य तीव्र पारेको हो ।


सम्बन्धित समाचार