१३ जेठ, काठमाडौँ । नेपालको उद्योग तथा लगानी क्षेत्रमा उत्साहजनक सुधारको सङ्केत देखिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सार्वजनिक गर्नुभएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मात्रै उद्योग विभाग र लगानी बोर्डमार्फत करिब ५ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यस लगानीमार्फत मुलुकभित्र ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने अनुमान सरकारले गरेको छ ।
चालू आर्थिक वर्षको पहिलो आठ महिनामा उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्डबाट १ खर्ब २ अर्ब २६ करोड गरी कुल ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो । यस नयाँ लगानी थपिएसँगै २०८२ फागुनसम्म उद्योग क्षेत्रमा स्वीकृत भएको कुल लगानीको आकार ५४ खर्ब ४४ अर्ब ६ करोड पुगेको सर्वेक्षणले देखाएको छ ।
लगानीको वातावरण सुदृढ बन्दै जाँदा नयाँ उद्योग दर्ता हुने क्रमले पनि तीव्रता पाएको छ । चालू आर्थिक वर्षको फागुनसम्म उद्योग विभागमा थप ९२१ वटा नयाँ उद्योग दर्ता भएका छन्, जसका कारण दर्ता भएका कुल उद्योगको सङ्ख्या ११ हजार १४० पुगेको छ । यी दर्ता भएका उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा करिब ७ लाख ८५ हजार नागरिकले प्रत्यक्ष रोजगारीको अवसर पाउने सरकारी अनुमान छ ।
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) तर्फ पनि नेपालमा विदेशी लगानीकर्ताहरूको आकर्षण बढ्दो क्रममा रहेको छ । २०८२ फागुनसम्म उद्योग विभागमा कुल ७ हजार ९५१ परियोजनाका लागि ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको विदेशी लगानी स्वीकृत भइसकेको छ । सर्वेक्षणका अनुसार विदेशी लगानीकर्ताहरूको पहिलो रोजाइमा सेवा क्षेत्र परेको छ ।
कुल स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी २८।३ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगटेको छ भने सबैभन्दा कम खनिज उद्योगमा जम्मा १।३ प्रतिशत मात्र लगानी स्वीकृत भएको पाइएको छ ।
यसैबिठ मुलुकमा कम्पनी दर्ता हुने क्रम पनि पौने ४ लाखको नजिक पुगेको छ । २०८२ फागुनसम्म दर्ता भएका कुल कम्पनीको सङ्ख्या ३ लाख ६९ हजार ६४६ पुगेको छ ।
दर्ता भएका कम्पनीहरूको प्रकृति हेर्दा नेपाली बजारमा निजी कम्पनीहरूको स्पष्ट वर्चस्व देखिएको छ । कुल दर्ता भएका कम्पनीहरूमध्ये ९७ दशमलव ५ प्रतिशत प्राइभेट लिमिटेड रहेका छन् भने अन्य प्रकृतिका कम्पनीहरूको हिस्सा मात्र २।५ प्रतिशतमा सीमित रहेको आर्थिक सर्वेक्षणले स्पष्ट पारेको छ ।


















