१३ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको स्पष्ट पारेको छ ।
विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प खोजिन लागिएको भन्दै आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सर्वोच्चले यस्तो प्रष्टीकरण दिएको हो ।
बुधबार सर्वोच्च अदालत प्रशासनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, दैनिक पेसी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाका बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफलमा आएको छैन । प्रशासनले गोला प्रक्रियालाई परिवर्तन गर्ने वा हटाउने सम्बन्धमा अदालतको कुनै पनि आधिकारिक धारणा नरहेको समेत सफाइ दिएको छ ।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित त्यस्ता समाचारहरू तथ्यमा आधारित नभएको जिकिर गर्दै सर्वोच्चले यस्ता भ्रामक सूचनाहरूको पछि नलाग्न र भ्रममा नपर्न सरोकारवाला तथा आम नागरिक सबैलाई आग्रह गरेको छ । यस विज्ञप्तिले बजारमा चलेका हल्लाहरूलाई पूर्ण रूपमा खारेज गरिदिएको छ ।
न्यायालयमा हुन सक्ने सम्भावित चलखेल रोक्न र पेसी तोक्ने कार्यलाई थप पारदर्शी एवं निष्पक्ष बनाउन विगत केही समयदेखि ‘अदालतहरूमा गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ बमोजिम मुद्दाको पेसी व्यवस्थापन हुँदै आएको छ । यो प्रणाली लागू भएपछि न्यायालयको सुशासनमा सुधार आएको भन्दै यसलाई निरन्तरता दिइने अदालतको भनाइ छ ।


















