Logo

१३ जेठ, काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले आगामी गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले सैनिक मञ्च टुँडिखेलबाट देशवासीका नाममा विशेष सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले देशको कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्रीले मुलुकको आगामी दिशा र दृष्टिकोण प्रष्ट पार्नुपर्ने बताउनुभएको हो ।

प्रथम राष्ट्रपति यादवले प्रधानमन्त्री शाहले अहिलेसम्म राष्ट्रका नाममा औपचारिक रूपमा सम्बोधन नगरेको स्मरण गराउँदै उहाँको दृष्टिकोण सुन्न सम्पूर्ण नेपाली जनता आतुर रहेको उल्लेख गर्नुभयो । देशको आर्थिक र सामाजिक अवस्थालाई कसरी अगाडि बढाउने, शिक्षा, स्वास्थ्य तथा कृषिको सुधार कसरी गर्ने, भौतिक पूर्वाधारको विकास र अन्तर्राष्ट्रिय सम्बन्धलाई कुन रूपमा अघि बढाउने भन्नेबारे प्रधानमन्त्रीले गणतन्त्र दिवसकै मञ्चबाट धारणा राख्नुपर्ने उहाँको भनाइ थियो । विभिन्न राजनीतिक आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिहरूका बारेमा प्रधानमन्त्रीको स्पष्ट दृष्टिकोण आउनु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

प्रेस युनियनको कार्यक्रममा बोल्दै डा। यादवले गणतन्त्र दिवसको मुख्य समारोहको अध्यक्षता राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने समाचार आफूले पढेको प्रसङ्ग पनि सुनाउनुभयो । राष्ट्रपतिले समारोहको अध्यक्षता गर्नु स्वभाविक भए पनि संसदीय शासन प्रणालीमा प्रधानमन्त्री नै कार्यकारी प्रमुख हुने भएकाले देशवासीलाई जवाफदेही बनाउने र मार्गनिर्देश गर्ने काम प्रधानमन्त्रीकै भएको उहाँले प्रष्ट पार्नुभयो । कार्यकारी प्रमुखले संसद् र जनता दुवैलाई सम्बोधन गरेर देशलाई नेतृत्व दिनुपर्नेमा उहाँको विशेष जोड थियो ।


सम्बन्धित समाचार