Logo

१३ जेठ, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ जना बहालवाला सांसदहरूको भूमिका शङ्कास्पद रहेको ठहर गर्दै उनीहरूमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

बुधबार सार्वजनिक गरिएको विस्तृत छानबिन प्रतिवेदनमा आयोगले आन्दोलनका बेला यी सांसदहरूले प्रदर्शनलाई हिंसात्मक बनाउन वा उक्साउन भूमिका खेलेको हुन सक्ने आधारहरू औँल्याएको हो ।

आयोगको प्रतिवेदनमा नाम किटान गरिएका सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा.तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र अमित खनाल रहेका छन् ।

प्रतिवेदनको १० नम्बर बुँदामा उनीहरूको भूमिकाका बारेमा विस्तृत चर्चा गर्दै आन्दोलनको पूर्वसन्ध्या, प्रदर्शनका दौरान र त्यसपछिको अवस्थामा समेत उनीहरूले दिएका सार्वजनिक अभिव्यक्तिहरू विवादित रहेको उल्लेख छ ।

राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त रिपोर्ट, सामाजिक सञ्जालमा पोष्ट गरिएका सामग्री र विभिन्न समाचार माध्यमहरूमा आएका विवरणका आधारमा उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको हो । आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा यी सांसदहरूको प्रत्यक्ष संलग्नता रहे(नरहेको, उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित वा उत्तेजित भई थप हिंसात्मक गतिविधि भएको हो वा होइन भन्ने विषयमा आयोगले गम्भीर प्रश्न उठाएको छ ।

आयोगले सरकारलाई निर्देशन दिँदै यी सांसदहरूमाथि सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुर्‍याउने काममा दुरुत्साहन गरेको वा नगरेको विषयमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ ।

साथै, अनुसन्धान प्रक्रिया अघि बढाउँदा सम्बन्धित व्यक्तिहरूको ‘स्वच्छ सुनुवाइ’ को संवैधानिक हकको पूर्ण सम्मान गर्दै नागरिकहरूलाई समेत यथार्थ अवस्थाबारे सुसूचित गराउन र दोषी देखिएमा कानुन बमोजिम कडा कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।


सम्बन्धित समाचार