Logo

१४ जेठ, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनको घटनाबारे सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनमाथि सरकारले आफ्नो जवाफदेहिता स्पष्ट पार्नुपर्ने र यस सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

कांग्रेसले विगतको सरकारद्वारा गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सुरुदेखि नै अधुरो, अपूर्ण र नियोजित रहेको दाबी गर्दै आएको थियो । अहिले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले पनि कार्की आयोगको कामलाई अपर्याप्त देखाएको र स्वयं कार्की आयोगका अध्यक्षमाथि नै सूक्ष्म अनुसन्धान गर्नुपर्ने औँल्याएपछि कांग्रेसको शङ्का थप बलियो बनेको छ । कांग्रेसले कार्की आयोगको प्रतिवेदनलाई ‘निष्पक्ष नभएको’ ठहर गर्दै सो आयोग गठनमा नै निहित स्वार्थ रहेको आरोप लगाएको छ ।

आफ्नो विज्ञप्तिमा कांग्रेसले लोकतन्त्रमा भिडतन्त्र र राज्यको क्रूरता दुवै अस्वीकार्य रहेको स्पष्ट पारेको छ । प्रतिवेदनले आन्दोलनको सुरुवाती चरण शान्तिपूर्ण रहे पनि पछि योजनाबद्ध हिंसात्मक घुसपैठ भएको तथ्य बाहिर ल्याएको भन्दै कांग्रेसले हिंसात्मक गतिविधिमा संलग्न जोसुकै व्यक्ति वा सांसदहरूलाई राजनीतिक संरक्षण दिन नहुने र कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेसले राज्य संयन्त्रको असफलता र सुरक्षा निकायद्वारा गरिएको अत्यधिक बल प्रयोगलाई पनि मानव अधिकार उल्लङ्घन भनी स्पष्टसँग उठाएको छ ।

कांग्रेसले सरकारलाई छ बुँदे ध्यानाकर्षण गराउँदै तत्काल आधिकारिक धारणा सार्वजनिक गर्न, आयोगले किटान गरेका दोषीहरूमाथि बिना राजनीतिक पूर्वाग्रह कारबाही गर्न र घाइते तथा पीडित परिवारलाई उचित राहत एवम् क्षतिपूर्तिको प्रबन्ध गर्न माग गरेको छ ।

साथै, सुरक्षा निकायलाई थप आधुनिक, प्रभावकारी र मानव अधिकारमैत्री बनाउन पनि दलले आग्रह गरेको छ । लोकतान्त्रिक मूल्य(मान्यता र विधिको शासनका लागि कांग्रेसले यो विषयलाई अब गम्भीरताका साथ अघि बढाउने संकेत गरेको छ ।


सम्बन्धित समाचार