Logo

१६ जेठ,वीरगञ्ज । मधेश प्रदेशको महोत्तरीस्थित बर्दिबासका होटल तथा पर्यटन व्यवसायीहरूले बेला–बेलामा हुने घटनालाई अतिरञ्जित ढंगले प्रस्तुत गरी पर्यटन व्यवसायीको मनोबल कमजोर पार्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा तथा सदस्य त्रिलोकी यादवसँग बर्दिबासस्थित होटल गौतममा भएको छलफलमा व्यवसायीहरूले गत जेठ ११ गते कालापानी क्षेत्रमा भएको घटनापछि आफूहरूमाथि निराधार आरोप लगाइएको गुनासो गरेका हुन्।

छलफलमा होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम, महोत्तरी जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीसहित प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

व्यवसायीहरूले वन कर्मचारीको व्यवहारका कारण उत्पन्न भएको विवादमा सम्बन्धित पक्षले आफ्नो गल्ती स्वीकार गरी माफी मागिसकेको अवस्थामा समेत होटल व्यवसायीलाई दोषी देखाउने गरी समाचार तथा सन्देश प्रवाह हुनु दुःखद भएको बताएका छन्।

यसैबीच होटल तथा पर्यटन व्यवसायी संघले कालापानी घटनाका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। जिल्ला अध्यक्ष गुञ्जबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा कालापानी घटनापछि बर्दिबासस्थित पानस होटल र भण्डारी होटलका सञ्चालकमाथि लक्षित गरी केही सञ्चारमाध्यममा प्रकाशित समाचारले सत्य तथ्यलाई ओझेलमा पार्ने र भ्रम सिर्जना गर्ने प्रयास गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार जेठ १२ गते बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरकारी अधिकारीहरूको सहभागितामा सम्पन्न बैठकमा वन कार्यालयका कर्मचारीले साँझको समयमा घरमै पुगेर लालपुर्जा माग्ने तथा दशकौँदेखि बसोबास गर्दै आएका स्थानीयलाई घर खाली गर्न दबाब दिने कार्य गल्ती भएको स्वीकार गरिएको थियो। सोही बैठकमा वन प्रमुख अजय मिश्रले माफी मागेको समेत उल्लेख गरिएको छ।

संघले राज्य पक्षबाट गल्ती स्वीकार गरिसकिएको अवस्थामा पनि व्यवसायी र होटल सञ्चालकमाथि विभिन्न आरोप लगाइनु चरित्रहत्या सरह भएको जनाएको छ। साथै वन कार्यालयका सात जना कर्मचारीलाई जीवितै जलाएर हत्या गर्न खोजिएको भन्ने आशयका सामाजिक सञ्जाल पोस्टहरूप्रति समेत गम्भीर आपत्ति जनाउँदै त्यस्ता भ्रामक सामग्री प्रसारण गर्ने व्यक्तिमाथि कारबाहीको माग गरेको छ।

होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले राज्यले आफ्नो कमजोरी स्वीकार गरिसकेपछि पनि व्यवसायी र होटलहरूलाई पूर्वाग्रही ढंगले आरोपित गरिनुको कारण खोजी गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

उहाँले बर्दिबासको पर्यटन तथा आतिथ्य क्षेत्रलाई अनावश्यक विवादमा तानेर व्यवसायिक वातावरण बिगार्ने प्रयास रोक्नुपर्ने आवश्यकता औँल्याउँदै तथ्यमा आधारित सूचना प्रवाह गर्न सञ्चारमाध्यम तथा सरोकारवाला पक्षलाई आग्रह गर्नुभयो।


सम्बन्धित समाचार