१६ जेठ,काठमाडौं । खानी तथा भूगर्भ विभागले दैलेखमा पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यसहित दोस्रो चरणको सम्झौताका लागि गृहकार्य थालेको छ।
विभागले व्यावसायिक उत्खननको प्रक्रिया अघि बढाउन विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौता गर्ने तयारी गरेको जनाएको छ। यसका लागि आवश्यक सहयोग प्राप्त गर्न सरकारसँग समन्वयसमेत भइरहेको विभागले जनाएको छ।
चीन सरकारको प्राविधिक सहयोगमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाअन्तर्गत दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पहिलो चरणको ड्रिलिङ तथा अन्वेषण कार्य सम्पन्न भइसकेको छ। परियोजनाले पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनका विभिन्न चरण सफलतापूर्वक पूरा गरेको जनाएको छ।
पेट्रोलियम अन्वेषण परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार चिनियाँ प्राविधिक टोलीसँगको सहकार्यमा सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे तथा जिओ–केमिकल स्याम्पलिङ सर्भेलगायतका कार्य सम्पन्न भइसकेका छन्।
परियोजनाअन्तर्गत गरिएको नमूना परीक्षणले दैलेख क्षेत्रमा पेट्रोलियम र प्राकृतिक ग्यासको सम्भावना रहेको पुष्टि गरेको विभागको दाबी छ।
विभागका अनुसार परियोजना सफलतापूर्वक कार्यान्वयन हुन सके पेट्रोलियम पदार्थको आयातमा खर्च हुने ठूलो रकम बचत हुने अपेक्षा गरिएको छ। यसले आयात प्रतिस्थापनमा टेवा पुग्नुका साथै मुलुकको आर्थिक विकास र ऊर्जा सुरक्षामा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।




















