Logo

१६ जेठ,काठमाडौं ।  नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ राजनीतिक शक्तिको प्रभाव दीर्घकालीन नहुने दाबी गरेका छन्। उनले चाँडै नै देशको नेतृत्व र जिम्मेवारी पुनः स्थापित राजनीतिक दलहरूको काँधमा आउने बताएका छन्।

पार्टीनिकट अखिल नेपाल महिला संगठनको भेलालाई सम्बोधन गर्दै पुनले सामाजिक सञ्जाल र भर्चुअल माध्यमको प्रभावबाट तीव्र रूपमा उदाएका राजनीतिक शक्तिहरू उस्तै गतिमा कमजोर हुन सक्ने टिप्पणी गरे।

उनले २०७९ को निर्वाचनपछि मधेश केन्द्रित राजनीतिक शक्तिहरूको उदाहरण दिँदै छोटो समयमा लोकप्रियता हासिल गरेका दलहरू स्थायित्व कायम गर्न असफल हुने गरेको बताए।

“भर्चुअल दुनियाँ र सामाजिक सञ्जालको प्रभावबाट तीव्र रूपमा उठेको आन्दोलन त्यत्तिकै छिटो ओरालो लाग्न सक्छ,” उनले भने।

पुनले स्थानीय तहको निर्वाचनसम्म पुग्दा नयाँ राजनीतिक शक्तिहरूको जनसमर्थन घट्न सक्ने दाबी गर्दै हालका मतदातामाझ पनि निराशा बढ्न थालेको बताए। सुकुम्वासी बस्ती हटाउने तथा अन्य नीतिगत निर्णयका कारण केही मतदाताले आफ्नो निर्णयप्रति पछुतो व्यक्त गर्न थालेको उनको भनाइ थियो।

उनले पछिल्लो समय सरकारभित्र देखिएको अस्थिरताको प्रसंग उल्लेख गर्दै छोटो अवधिमै दुई मन्त्री पदमुक्त भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे। राजनीतिक आन्दोलन, त्याग र बलिदानको जगमा नबनेका शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने उनको तर्क थियो।

पुनले स्थापित राजनीतिक दलहरूले आफ्नो कार्यशैली सुधार गर्दै जनतामाझ प्रभावकारी रूपमा प्रस्तुत हुन सके नयाँ राजनीतिक शक्तिहरू कमजोर हुने र पुनः परम्परागत दलहरू नै अगाडि आउने अवस्था सिर्जना हुने दाबी गरे।


सम्बन्धित समाचार