१६ जेठ,वीरगञ्ज । वीरगञ्जमा दुई व्यक्तिको निधनपछि परिवारजनको सहमतिमा नेत्रदान (आँखा दान) गरिएको छ। शोकको कठिन घडीमा पनि परिवारले देखाएको मानवीय संवेदनशीलता र उदारताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
वीरगञ्ज निवासी शंकर लाल सरावगीको निधनपछि उनका सुपुत्र आशीष सरावगी र प्रदीप सरावगीको सहमतिमा नेत्रदान गरिएको हो। त्यसैगरी, लक्ष्मण बहादुर श्रेष्ठको निधनपछि उनका सुपुत्र सुदर्शन श्रेष्ठको सहमतिमा पनि नेत्रदान सम्पन्न गरिएको छ।
नेत्रदान कार्यक्रमको समन्वय तेरापंथ युवक परिषद वीरगञ्जले गरेको थियो भने आँखा (कर्निया) संकलनको कार्य केडिया आँखा अस्पतालको चिकित्सक टोलीले सम्पन्न गरेको जनाएको छ।
मृत्युपछि गरिने नेत्रदानले दृष्टिविहीन व्यक्तिहरूलाई नयाँ जीवन र उज्यालो भविष्य दिन सहयोग पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय नेपाल–भारत सीमावर्ती क्षेत्रमा नेत्रदानप्रति जनचेतना बढ्दै गएको सन्दर्भमा वीरगञ्जमा सम्पन्न यो कार्यलाई प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।
शोकमाथि मानव सेवाको भावनालाई प्राथमिकता दिँदै अरूको जीवनमा उज्यालो भर्ने निर्णय गर्ने दुवै परिवारको योगदानलाई स्थानीय समुदायले प्रशंसनीय र अनुकरणीय कदमका रूपमा लिएको छ।




















