१९ जेठ, जगरनाथपुर (पर्सा) । पर्साको जगरनाथपुर गाउँपालिकाले मधेस प्रदेशका स्थानीय तहहरूमध्ये सबैभन्दा अगाडि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मधेस प्रदेशमै पहिलो पटक आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने स्थानीय तह बन्दै जगरनाथपुरले विकास र सुशासनमा नयाँ रेकर्ड कायम गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ स्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको सभाहलमा आयोजित एक विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले आगामी आर्थिक वर्षमा पनि पालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई नै मुख्य प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरू केन्द्रित गर्ने स्पष्ट पार्नुभयो। उहाँले यस पटक नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएका नवीन र जनमुखी कार्यक्रमहरू समावेश गरिएको जानकारी दिए ।
जस अन्तर्गत पालिकाभित्रै सहुलियत दरमा ‘पालिका औषधि पसल’ सञ्चालन गरिने, औराहा स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) सेवाको विस्तार गरिने तथा भौतिक पूर्वाधारतर्फ ‘खाल्डामुक्त पालिका अभियान’ अन्तर्गत तत्काल सडक मर्मतका लागि ‘सडक एम्बुलेन्स’ सञ्चालन गर्ने जस्ता नयाँ र महत्त्वपूर्ण योजनाहरू नीति तथा कार्यक्रममा समेटिएका छन् ।
अध्यक्ष यादवका अनुसार विगतका लोकप्रिय र प्रभावकारी कार्यक्रमहरूलाई आगामी वर्ष पनि निरन्तरता दिइनेछ । जस अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा सञ्चालन, विपन्न, गरिब तथा दलित बस्ती र टोलहरूमा ‘निःशुल्क ट्युसन कक्षा’, विद्यार्थीहरूका लागि अनलाइन कोचिङ कार्यक्रम तथा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न ‘ई-हाजिरी’ प्रणालीलाई अनिवार्य गरिनेछ । यस्तै, कृषकहरूलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइका लागि मोटर वितरण गर्ने कार्यक्रमले आगामी वर्ष पनि निरन्तरता पाउने भएको छ ।
समारोहमा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभासमक्ष प्रस्तुत गर्दै कृषि प्रयोगशाला सञ्चालन गर्ने तथा गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त बनाउन आफ्नै नयाँ भवनबाट ‘एकद्वार प्रणाली’ मार्फत सेवा दिने महत्त्वाकाङ्क्षी योजना प्रस्तुत गरिन् ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्षहरू लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, प्रभु प्रसाद नुनिया, विहारी महतो नुनिया र अयोध्या प्रसाद पटेल लगायत सम्पूर्ण गाउँसभा सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति थियो । उक्त कार्यक्रमको सहजीकरण तथा सञ्चालन स्वास्थ्य संयोजक प्रभेन्द्र साहले गरेका थिए ।




















