Logo

१९ जेठ, वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंह नागरिकता लिखतसम्बन्धी गम्भीर कसुरमा पक्राउ परेका छन् । पर्सा जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मङ्गलवार बिहान पर्साको ठोरीबाट नियन्त्रणमा लिएको हो ।

पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार मेयर सिंहलाई ठोरी गाउँपालिकास्थित ‘ठोरी भिलेज रिसोर्ट’ मा बसिरहेको अवस्थामा घेराबन्दी गरी नियन्त्रणमा लिइएको हो । लिखत किर्ते सम्बन्धी मुद्दामा अदालतले गत जेठ ८ गते र नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ गते (गत मङ्गलवार) उनीविरुद्ध दोहोर्‍याएर पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि मेयर सिंह गत बुधबार बिहान आफैँ पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यतिबेला उनले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै न्यायिक प्रक्रिया र अनुसन्धानलाई सहयोग गर्न आफू स्वतःस्फूर्त रूपमा अदालत आएको दाबी गरेका थिए । तर, अदालत प्रशासनले मुद्दाको चापका कारण सो दिन सुनुवाइ हुन नसक्ने जानकारी गराएपछि उनी ‘सार्वजनिक बिदा सकिएलगत्तै पुनः उपस्थित हुने’ प्रतिबद्धता जनाउँदै बाहिरिएका थिए । अदालतमा हाजिर हुन छाडेर ठोरीको रिसोर्टमा बसिरहेको फेला परेपछि प्रहरीले उनलाई सिधै हिरासतमा लिएको हो ।

के हो फर्जी नागरिकता र किर्ते कागजातको विवाद ?

मेयर सिंहमाथि सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरी दाबी गर्दै फर्जी जन्मदर्ता खडा गरेको र सोही आधारमा जिल्ला प्रशासन कार्यालयबाट किर्ते नागरिकता दिलाएको गम्भीर आरोप छ । यद्यपि, मेयर सिंहले रिता भट्टराई आफ्नी कान्छी (दोस्रो) श्रीमती भएको दाबी गर्दै आएका छन् ।

यस प्रकरणमा पर्सा जिल्ला अदालतले मेयर सिंहसहित उनकी दोस्रो भनिएकी श्रीमती रिता भट्टराई र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिका अधिकारी भिखारी रायविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिसकेको छ ।

सरकारी वकिल कार्यालयका अनुसार वीरगञ्ज–३ का स्थानीय लियाकत अलीले २०८० साल माघ महिनामा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात र नागरिकता किर्ते गरेको भन्दै किटानी उजुरी दिएका थिए । सोही उजुरीमाथि प्रहरी अनुसन्धानका आधारमा चारवटा छुट्टाछुट्टै मुद्दा दायर भएकोमा जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा पुर्जी जारी गरेको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले पुष्टि गरे ।

यसअघि, पर्सा प्रहरीले सोमबार मात्रै मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई अदालत नजिकै रहेको एक कानुन व्यवसायी (वकिल) को कार्यालयबाट नियन्त्रणमा लिएको थियो। तर, घटनामा उनको प्रत्यक्ष संलग्नता पुष्टि हुने कुनै ठोस आधार र प्रमाण फेला नपरेपछि उनलाई सोमबार राति नै रिहा गरिएको छ ।

डीएसपी बस्नेतले घिमिरेलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सामान्य सोधपुछ र बयान लिइएको र तत्काल प्रमाण नदेखिएपछि छाडिएको जानकारी दिए । पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी कर्तव्य र लिखत किर्तेको कसुरमा थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।


सम्बन्धित समाचार