Logo

१९ जेठ,काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) र युगान्डासहित पूर्वी अफ्रिकाका विभिन्न मुलुकमा इबोला भाइरसको नयाँ प्रकोप तीव्र रूपमा फैलिन थालेपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ।

अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हालसम्म ३२१ जनामा इबोला सङ्क्रमण पुष्टि भएको छ भने १ हजार १०० भन्दा बढी संदिग्ध बिरामी फेला परेका छन्।

सरकारी तथ्याङ्कअनुसार कङ्गोका तीनवटा प्रान्तमा सङ्क्रमण फैलिसकेको छ। महामारीका कारण हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ। वैज्ञानिकहरूले यसपटकको प्रकोप इबोलाको अत्यन्त खतरनाक मानिने ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट फैलिएको पुष्टि गरेका छन्।

यस स्ट्रेनविरुद्ध हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध नभएकाले स्वास्थ्य अधिकारीहरू चिन्तित बनेका छन्। महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संस्था ‘कोअलिसन फर एपिडेमिक प्रिपेडनेस इनोभेसन्स’ (सीईपीआई) ले ६० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको आपत्कालीन आर्थिक सहायता घोषणा गरेको छ।

उक्त रकम खोप विकास र क्लिनिकल परीक्षणलाई तीव्रता दिन विभिन्न अनुसन्धान संस्था तथा औषधि उत्पादक कम्पनीहरूलाई उपलब्ध गराइनेछ। यसअन्तर्गत अमेरिकी औषधि कम्पनी मोडर्नाले प्रारम्भिक क्लिनिकल परीक्षण र उत्पादनका लागि ५० मिलियन डलर प्राप्त गरेको छ।

यस्तै, बेलायतको अक्सफोर्ड विश्वविद्यालय र भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाको संयुक्त परियोजनाले ८.६ मिलियन डलर सहयोग पाएको छ। साथै, ‘इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ’ लाई पनि अनुसन्धानका लागि आर्थिक सहायता प्रदान गरिएको छ।

हाल विश्वको ध्यान अक्सफोर्ड विश्वविद्यालय र सिरम इन्स्टिच्युटले विकास गरिरहेको ‘ChAdOx1 Bundibugyo’ खोपतर्फ केन्द्रित भएको छ। यो खोप कोभिड–१९ महामारीका बेला प्रयोग गरिएको अक्सफोर्ड–एस्ट्राजेनेका (कोभिशिल्ड) खोपकै जस्तै भाइरल भेक्टर प्रविधिमा आधारित छ।

सीईपीआईका प्रमुख रिचर्ड ह्याचेटका अनुसार वैज्ञानिक तथा उत्पादन साझेदारहरूको तीव्र प्रयासका कारण आगामी केही महिनाभित्र उक्त खोप मानव परीक्षणका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार