Logo

१९ जेठ,वीरगञ्ज । लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार भएको थुनछेक बहसपछि सिंहलाई कुल ४ लाख १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतका स्रेस्तेदार प्रभाकर मल्लिकका अनुसार लिखतसम्बन्धी कसुरतर्फ ४ लाख रुपैयाँ र झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपसम्बन्धी कसुरतर्फ १५ हजार रुपैयाँ धरौटी तोकिएको हो।

सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा जेठ १२ गते जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी अदालतमा उपस्थित भए पनि पछि सम्पर्कविहीन भएका थिए।

त्यसपछि उनलाई फरार सूचीमा राखी प्रहरीले खोजी तीव्र पारेको थियो। मंगलबार पर्साको ठोरी गाउँपालिका क्षेत्रमा खटिएको प्रहरी विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।

पक्राउपछि अदालतमा उपस्थित गराइएका सिंहमाथि थुनछेक बहस सम्पन्न भएपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।


सम्बन्धित समाचार