Logo

२० जेठ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका मा एक वर्षअघि विद्यार्थी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि जडान गरिएका कार्यालय सामग्री भुक्तानी नहुँदा फिर्ता लगिएको छ। यस घटनाले नगरपालिकाको सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा असर पर्ने देखिएको छ।

आन्दोलनका कारण फर्निचर, एसी, सीसी क्यामेरा, सोफा, कार्पेटलगायत सामग्री जलेर नष्ट भएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव को कार्यकालमा आवश्यक सामग्री जडान गरी कार्यालय सञ्चालनमा ल्याइएको थियो।

तर सामग्री खरिद तथा जडानसम्बन्धी कार्यादेश (वर्क अर्डर) समयमै जारी नभएको र भुक्तानी प्रक्रिया अघि नबढाइएका कारण समस्या जटिल बनेको हो। वीरगञ्जस्थित काव्य कन्सल्टेन्ट कम्पनीले करिब ८ लाख रुपैयाँ बराबरका एसी, सीसी क्यामेरा, पर्दा र सोफा आपूर्ति गरे पनि लामो समयसम्म भुक्तानी नपाएपछि जडान गरिएका सामग्री फिर्ता लगेको जनाएको छ।

नगर प्रमुख सिंहासन साह ले कार्यादेशबिनै सामग्री जडान गरिएकाले भुक्तानी गर्न कानुनी तथा प्रशासनिक समस्या भएको बताए। उनका अनुसार यही कारण कम्पनीले सामग्री फिर्ता लगेको हो।

यता उपप्रमुख सुष्मा कुशवाहा ले भने आफ्नो कार्यकक्षमा जडान गरिएका सामग्रीबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएकी छन्।

नगर प्रमुख र उपप्रमुख दुवैले एक वर्षदेखि प्रयोगमा रहेका सामग्रीबारे जानकारी नभएको बताउनु प्रशासनिक समन्वय र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाउने विषय बनेको छ। स्थानीयवासीका अनुसार यसले नगरपालिकाको कार्यशैलीमाथि नै प्रश्नचिह्न खडा गरेको छ।

भुक्तानी विवादका कारण आवश्यक सामग्री फिर्ता लगिनुले कार्यालय सञ्चालन र सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने देखिएको छ। साथै, यस घटनाले सार्वजनिक निकायमा खरिद प्रक्रिया, कार्यादेश र भुक्तानी व्यवस्थापनको पारदर्शितामाथि पुनः बहस सुरु गराएको छ।


सम्बन्धित समाचार