Logo

२० जेठ,माडी। माडी–८ खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा नैतिक शिक्षा प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, हेटौँडाको स्वीकृत कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम बिहान ७ बजेदेखि करिब डेढ घण्टासम्म सञ्चालन भएको थियो। कार्यक्रममा विद्यार्थीको चरित्र निर्माण, अनुशासन, जिम्मेवारीबोध, नैतिक आचरण तथा संस्कारयुक्त जीवनशैलीका विषयमा अन्तरक्रिया समेत गरिएको थियो।

कार्यक्रमका प्रमुख प्रशिक्षक एवं माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले विद्यार्थीको सफलताको आधार केवल शैक्षिक उपलब्धि मात्र नभई उसको संस्कार, अनुशासन र व्यवहार पनि हुने बताउनुभयो।

उहाँले उच्च अंक प्राप्त गरेका व्यक्तिहरू समेत गलत संगत, दुर्व्यसन तथा अनुशासनहीनताका कारण जीवनमा कठिनाइ भोग्नुपरेका उदाहरण समाजमा प्रशस्त रहेको उल्लेख गर्दै बालबालिकालाई सानैदेखि नैतिक मूल्य, जिम्मेवारीबोध र असल संस्कारसहित हुर्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

संस्कारयुक्त वातावरणमा हुर्किएको बालबालिका भविष्यमा समाजप्रति उत्तरदायी, सेवाभावी र सकारात्मक सोच भएको नागरिक बन्न सक्ने उल्लेख गर्दै उहाँले अध्ययनसँगै नैतिक शिक्षा र चरित्र निर्माणलाई समान महत्व दिन सके मात्र सभ्य, अनुशासित र समृद्ध समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

शिक्षकका तर्फबाट नारायण पोखरेल र रामप्रसाद भण्डारीले नैतिक शिक्षालाई व्यवहारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीको आचरण, अनुशासन र जिम्मेवारीबोध विकासमा परिवार र विद्यालयको संयुक्त भूमिका महत्वपूर्ण रहने बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले विभिन्न जिज्ञासा, अनुभव तथा सुझावहरू प्रस्तुत गरेका थिए। अभिभावकका तर्फबाट श्याम पौडेल, रुद्र रेग्मी, राजकुमार परियार तथा उषा गायकले यस्ता कार्यक्रमले बालबालिकाको व्यवहारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन शिक्षक रामप्रसाद भण्डारीले गर्नुभएको थियो। कार्यक्रमबारे जानकारी दिँदै उहाँले “यो वर्ष संस्कार र अनुशासनको वर्ष” भन्ने नारालाई सार्थक बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो। सहभागीहरूले कार्यक्रमलाई समयसापेक्ष, उपयोगी तथा प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए।


सम्बन्धित समाचार