२२ जेठ,काठमाडौं । सुगम जिल्लाका रूपमा चिनिने चितवनको दुर्गम बस्तीमध्ये एक राप्ती नगरपालिका–१३ कान्दा मा सडक नपुग्दा स्थानीयवासी र विद्यार्थी अझै पनि भिरपाखा र गोरेटो बाटो हुँदै आवतजावत गर्न बाध्य भएका छन्।
कान्दा बस्तीस्थित कान्देश्वरी आधारभूत विद्यालय सम्म पुग्ने आठ किलोमिटर सडक निर्माणका लागि पछिल्लो पाँच वर्षमा दुई करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भए पनि हालसम्म करिब दुई किलोमिटर मात्र ट्र्याक खुलेको छ। खुलेको सडकमा पनि चारपाङ्ग्रे सवारीसाधन कहिलेकाहीँ मात्र पुग्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
स्थानीय जनप्रतिनिधिका अनुसार सडक निर्माणका लागि प्रत्येक वर्ष बजेट छुट्याइए पनि स्थानीयबीच सहमति नहुँदा उपभोक्ता समिति गठन हुन नसकेकाले योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।
राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा ले २०७९ सालको स्थानीय तह निर्वाचनअघि सङ्घीय सरकारमार्फत वडा नम्बर १३ देखि कान्दासम्म सडक निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिए। उक्त बजेटबाट सामान्य रूपमा ट्र्याक खोल्ने काम भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनले बताए।
नगरप्रमुख लामाका अनुसार कान्देश्वरी आधारभूत विद्यालयसम्म सडक पुर्याउन नगरपालिकाले चार वर्षदेखि प्रत्येक वर्ष करिब ५० लाख रुपैयाँ बजेट छुट्याउँदै आएको छ। तर उपभोक्ता समिति गठन नहुँदा बजेट खर्च हुन नसकेको उनको भनाइ छ।
“स्थानीय एकजुट हुन नसक्दा सडक निर्माणको कामले गति लिन सकेको छैन,” उनले भने।
वडा नम्बर १३ का अध्यक्ष अशोक प्रजा का अनुसार आफू निर्वाचित भएयता सडक निर्माणका लागि एक करोड ४० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको छ। निर्माण कम्पनीमार्फत ठेक्का प्रक्रियाबाट काम अघि बढाउने प्रयास भए पनि सफल हुन नसकेको उनले बताए।
चालु आर्थिक वर्षमा समेत ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। हाल उपभोक्ता समिति गठन भए पनि वर्षायाम सुरु भइसकेकाले निर्माण कार्य कसरी अघि बढाउने भन्ने अन्योल रहेको अध्यक्ष प्रजाले बताए।
विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया ले हालसम्म करिब दुई किलोमिटर मात्र ट्र्याक खुलेको जानकारी दिँदै बाँकी बाटो भिर, पाखा र झाडी हुँदै हिँड्नुपर्ने अवस्था रहेको बताए।
“खुट्टा चिप्लिएमा भीरबाट खसेर ज्यानसमेत जान सक्छ,” उनले भने, “विद्यार्थी र स्थानीयवासीले दैनिक जोखिम मोलेर यात्रा गर्नुपरेको छ।”
उनका अनुसार विद्यालयमा आवासीय सुविधासहित १७६ जना विद्यार्थी अध्ययनरत छन्। कान्दा र आसपासका बस्तीका विद्यार्थी गोरेटो बाटो हुँदै विद्यालय पुग्ने गरेका छन् भने नगरपालिकाको केन्द्रसम्म पुग्नसमेत कठिनाइ हुने गरेको छ।
प्रधानाध्यापक थपलियाले प्रत्येक वर्ष सडक निर्माणका लागि बजेट विनियोजन भएको खबर आए पनि स्थलगत रूपमा उल्लेखनीय काम नभएको गुनासो गरे। “असार लागेपछि डोजर आएर केही काम गरेजस्तो देखिन्छ, वर्षा सुरु भएपछि काम रोकिन्छ,” उनले भने।
वडा अध्यक्ष प्रजाका अनुसार कान्दा बस्तीमा ६५ घरधुरी बसोबास गर्दै आएका छन्। लामो समयदेखि सडक विस्तारका प्रयास भए पनि विभिन्न कारणले योजना अझै सम्पन्न हुन सकेको छैन।

















