२२ जेठ,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरस्थित पन्ना देवी कन्या माध्यमिक विद्यालयको नाममा रहेको २२ बिघा १७ कठ्ठा कृषि जग्गाबाट हुने आम्दानीको हिसाबकिताबमा गम्भीर प्रश्न उठेको छ। अडिट प्रतिवेदनमै लाखौं रुपैयाँ बराबरको धानबाली बक्यौता देखिएपछि आर्थिक अनियमितताको आशंका बढेको हो।
आर्थिक वर्ष २०८१/०८२ को अडिट प्रतिवेदनअनुसार विद्यालयले विभिन्न जोताहाबाट उठाउनुपर्ने ४० लाख २८ हजार २५० रुपैयाँ बराबरको धानबाली असुल हुन बाँकी रहेको उल्लेख गरिएको छ। तर सम्बन्धित जोताहाहरूले आफूहरूले रकम बुझाइसकेको दाबी गरेका छन्, जसले अभिलेख र वास्तविक कारोबारबीच विरोधाभास देखाएको छ।
प्रतिवेदनअनुसार विद्यालयको जग्गाबाट वार्षिक ३४१ क्विन्टल २२ किलो धान उत्पादन हुनुपर्ने व्यवस्था छ। प्रतिक्विन्टल ३ हजार रुपैयाँका दरले विद्यालयले वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नुपर्ने भए पनि त्यसको स्पष्ट अभिलेख उपलब्ध छैन।
सबैभन्दा ठूलो बक्यौता उपेन्द्र प्रसाद चौधरीको नाममा १९ लाख २ हजार ६ सय रुपैयाँ देखाइएको छ। अडिट प्रतिवेदनमा उनले जग्गा छाडिसकेको उल्लेख भए पनि विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले उक्त विवरण गलत रहेको दाबी गरेका छन्।
त्यस्तै, रामरुप प्रसाद चौधरीको नाममा १२ लाख ९० हजार ९ सय ९० रुपैयाँ बक्यौता देखाइएको छ। तर उनले तत्कालीन व्यवस्थापन समिति अध्यक्ष अनिल मण्डललाई रकम बुझाएको दाबी गरेका छन्। सिकेन्द्र सहनीले बैंकमार्फत रकम बुझाएको दाबी गरे पनि प्रतिवेदनमा उनको नाममा ३ लाख ६६ हजार २ सय १० रुपैयाँ बक्यौता उल्लेख छ।
बैद्यनाथ सहनीको नाममा ४ लाख २१ हजार ८ सय रुपैयाँ तथा प्रधुमन प्रसाद चौधरीको नाममा ५० हजार ७ सय रुपैयाँ बक्यौता देखाइएको छ।
यता, स्थानीय अभिभावक र सरोकारवालाहरूले विद्यालयको सम्पूर्ण आर्थिक कारोबारको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरेका छन्। उनीहरूले जग्गाबाट भएको आम्दानी, रसिद प्रणाली र लेखापरीक्षण प्रक्रियामाथि प्रश्न उठाउँदै दोषी देखिए कानुनी कारबाही गर्न माग गरेका छन्।
विद्यालयका वर्तमान प्रधानाध्यापक नरेन्द्र कुमार गिरीले भने यस विषयमा सार्वजनिक रूपमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
विद्यालयको खातामा नदेखिएको लाखौं रुपैयाँ वास्तवमै उठेको हो वा होइन भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिएको छ। हाल उपलब्ध विवरणहरूले विद्यालयको आर्थिक व्यवस्थापनमाथि गम्भीर अनियमितताको आशंका बलियो बनाएको छ।

















