२३ जेठ, काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले देशभर अण्डाको फार्म समर्थन मूल्य पुनः बढाउने निर्णय गरेको छ। सङ्घको काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले देशका विभिन्न क्षेत्रका किसान र व्यवसायीहरूको राय, परामर्श एवं सिफारिसका आधारमा आजैदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशकै प्रमुख उत्पादन केन्द्र चितवनलाई मुख्य आधार क्षेत्र (बेस) मानी नयाँ दररेट तय गरिएको हो। नयाँ मूल्यसूचीअनुसार अब उपभोक्ताले एक्सएल अण्डा प्रतिक्रेट (३० वटा) को ५६० रुपैयाँ, ठुलो अण्डाको ५४५ रुपैयाँ र मध्यम (मिडियम) अण्डाको ५१५ रुपैयाँ तिर्नुपर्नेछ भने सानो अण्डाको प्रतिपेटी मूल्य तीन हजार रुपैयाँ कायम गरिएको छ । यस नयाँ मूल्य समायोजनसँगै उपभोक्ताले खुद्रा बजारमा प्रतिगोटा अण्डा खरिद गर्दा करिब २५ रुपैयाँसम्म बेहोर्नुपर्ने देखिएको छ ।
पछिल्लो एक महिनाको बजार तथ्याङ्कलाई हेर्दा अण्डाको मूल्य निरन्तर उकालो लागिरहेको देखिन्छ । गत वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ रहेकामा नयाँ मूल्य ५६० पुगेको छ, जुन एक महिनाको अवधिमा ९५ रुपैयाँ अर्थात् करिब २० प्रतिशतको उच्च वृद्धि हो ।
सोही अवधिमा ठुलो अण्डाको मूल्य ४९० बाट ५४५ रुपैयाँ, मिडियम अण्डाको ४०० बाट ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० रुपैयाँबाट वृद्धि भई सीधै तीन हजार रुपैयाँ पुगेको छ । सङ्घका अनुसार पछिल्ला केही सातायता चरम गर्मीका कारण अण्डाको उत्पादनमा तीव्र गिरावट आएको तर बजारमा यसको माग भने बढेकाले मूल्यमा निरन्तर सुधार आएको हो ।
किसानहरूले दाना, औषधि, ढुवानी तथा अन्य उत्पादन सामग्रीको लागत दिनप्रतिदिन बढ्दै जाँदा मूल्य समायोजन गर्नुको विकल्प नरहेको बताएका छन्। हाल नेपालमा एउटा अण्डा उत्पादन गर्न मात्रै किसानको औषत लागत १९ रुपैयाँ १२ पैसा पर्ने गरेको छ ।
लामो समयसम्म लागतभन्दा कम मूल्यमा अण्डा बेच्न बाध्य भई ठुलो नोक्सानी ब्यहोरेका किसानहरूले यस नयाँ समर्थन मूल्य लागू भएपछि बल्ल लागत नजिकको मूल्य पाउन थालेका छन्, जसले धराशायी बन्दै गएको पोल्ट्री क्षेत्रका किसानलाई केही राहत मिलेको अध्यक्ष पोखरेलको भनाइ छ ।
यसका साथै पछिल्लो समय नेपालमा पर्यटकको आगमन बढ्नु, सीमा क्षेत्रमा भारतीय अण्डाको अवैध आयात तथा ओसारपसारमा सरकारले कडाइ गर्नु र आन्तरिक बजारमा उपभोगको दायरा फराकिलो हुनुले पनि मूल्य सुधारमा बलियो सहयोग पुर्याएको सङ्घले जनाएको छ ।
अण्डाको बजार व्यवस्थित बनाउन र उत्पादन लागत नियन्त्रण गर्न सरकारी निकायबाट थप नीतिगत समर्थन र राहत प्याकेज आवश्यक रहेको किसानहरूको माग छ ।

















