Logo

२३ जेठ, काठमाडौँ । लामो समयदेखि अत्यधिक गर्मी र तातो हावा (लू) का कारण आकुलव्याकुल बनेका नेपालीका लागि मनसुनको प्रतीक्षा अझै केही दिन लम्बिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यो वर्षको मनसुन भित्रिन अझै कम्तीमा एक साता लाग्ने देखिएको छ ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल मनसुनी प्रणाली दक्षिण भारतको केरल र तमिलनाडु क्षेत्रमा आइपुगेको जानकारी दिए। उक्त प्रणाली बङ्गालको खाडी हुँदै नेपालसम्म आइपुग्न अझै केही समय लाग्ने उनको भनाइ छ । “यही दिन नै मनसुन भित्रिन्छ भनेर अहिले नै शतप्रतिशत यकिन गर्न त सकिँदैन, तर आगामी तीन–चार दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने र त्यसपछि नेपाल प्रवेश गर्न एक हप्ता आसपासको समय लाग्ने अनुमान गरिएको छ,” मौसमविद् पौडेलले भने ।

नेपालमा सामान्यतया जुन १३ तारिखलाई मनसुन भित्रिने औसत मिति मानिन्छ। छिमेकी मुलुक भारतमा जुन १ तारिखमा मनसुन भित्रिने औसत समय रहे पनि यसपालि त्यहाँ केही दिन ढिला गरी प्रणाली भित्रिएको छ । भारतमै मनसुनी वायु ढिलो सक्रिय भएकाले नेपालमा पनि निर्धारित साविकको मितिभन्दा केही दिन ढिलो गरी मात्रै मनसुन भित्रिने मौसमविद्हरूको विश्लेषण छ ।

केरलमा मनसुन आइपुगेको एक हप्ताभित्र नेपालमा वायु प्रवेश गर्ने सामान्य ट्रेन्ड रहे पनि वायुको गति र वायुमण्डलीय प्रणाली कत्तिको शक्तिशाली रूपमा विकसित हुन्छ, त्यसैले वास्तविक समय निर्धारण गर्ने विभागले जनाएको छ ।

कृषक र आम सर्वसाधारणका लागि यो वर्षको मनसुन विगतका वर्षहरू जस्तो अनुकूल नहुने सङ्केत मौसमविद्हरूले गरेका छन् । यसपालिको मनसुनमा समग्र देशमा औसतभन्दा कम वर्षा हुने र देशका अधिकांश भूभागमा गर्मीको प्रकोप बढी हुने आकलन गरिएको छ । यद्यपि, मौसमको बदलिँदो प्रवृत्तिका कारण केही सीमित क्षेत्रहरूमा छोटो समयमै ‘अतिवृष्टि’ (अत्यधिक भारी वर्षा) वा ‘अनावृष्टि’ (लामो समय खडेरी पर्ने) जस्ता चरम मौसमी साङ्घातिक घटनाहरू हुन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने मौसमविद्हरूको ठहर छ ।

मनसुन ढिलो र कम पानी पर्ने आकलन गरिए पनि यसले निम्त्याउने बाढी, पहिरो र डुबान जस्ता विपद्‌बाट ठुलो जनधनको क्षति हुन सक्ने भन्दै सरकारी निकायहरूले पूर्वतयारी थालेका छन् । यो वर्ष मनसुनको अवधिमा देशभरका करिब ५१ हजार परिवारका दुई लाख २६ हजार नागरिक प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

विपद्को यो सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले ‘मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ बनाएर देशैभर लागू गरिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । कार्ययोजना अन्तर्गत तीनै तहका सरकार, सुरक्षा निकाय तथा उद्धार टोलीहरूलाई सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा ‘हाई अलर्ट’ मा राखिएको र राहत सामग्रीको भण्डारण चुस्त बनाइएको प्राधिकरणले जनाएको छ ।


सम्बन्धित समाचार