२३ जेठ,काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो भेटवार्ताको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन्।
बीबीसीका अनुसार जेलेन्स्कीले खुलापत्रमार्फत रूस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न प्रत्यक्ष संवाद आवश्यक रहेको उल्लेख गर्दै अमेरिकाको पहल पर्खिरहनु उपयुक्त नहुने बताएका थिए। उनले दुवै देशका नेतृत्वबीच सीधा वार्ताबाट समाधान खोज्न आग्रह गरेका थिए।
तर राष्ट्रपति पुटिनले जेलेन्स्कीसँग भेटवार्ता आवश्यक नरहेको बताउँदै युद्ध अन्त्यका लागि आफू तयार रहेको दाबी गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसअघि भएका छलफलका प्रस्तावहरूलाई नै सम्भावित समाधानको आधार मान्नुपर्ने धारणा व्यक्त गरेका छन्।
पुटिनले युद्ध अन्त्यका लागि किएभले केही ‘सम्झौता’ गर्नुपर्नेमा जोड दिएका छन्। साथै, रुसी सेनाले युक्रेनको नियन्त्रणमा रहेको करिब २ हजार ४ सय ४० वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिएको र विभिन्न मोर्चामा निरन्तर अग्रसर रहेको दाबी पनि गरेका छन्।
रुसी राष्ट्रपतिले युरोपेली सङ्घ (ईयू) को मध्यस्थकर्ताको भूमिकालाई समेत अस्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ। यससँगै युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि दुवै पक्षबीचको दूरी अझै कायम रहेको देखिएको छ।

















