२३ जेठ,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १७ महिनाको कार्यकालमा ठूलो संख्यामा भारतीय नागरिक अमेरिकाबाट निष्काशित (डिपोर्ट) गरिएको तथ्य सार्वजनिक भएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ट्रम्प कार्यभार सम्हालेयताका १७ महिनामा ४ हजार ६०० भन्दा बढी भारतीय नागरिकलाई अमेरिकाबाट भारत फिर्ता पठाइएको हो।
उनका अनुसार सन् २०२६ मा अहिलेसम्म मात्रै १ हजार ७६ जना भारतीय नागरिकलाई अमेरिका बाट डिपोर्ट गरिएको छ। त्यसैगरी सन् २०२५ मा ३ हजार ५६७ जनालाई देशनिकाला गरिएको मन्त्रालयले जनाएको छ।
अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका, भिसा अवधि सकिएर पनि बसिरहेकाहरू वा बिना कागजात रहेका आप्रवासीलाई डिपोर्ट गर्ने नीति अपनाउँदै आएको छ। ट्रम्प प्रशासनले आप्रवासन मुद्दालाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि सारेको थियो।
भारतीय विदेश मन्त्रालयले भने अवैध रूपमा विदेशमा रहेका आफ्ना नागरिकलाई फिर्ता लिनु अन्तर्राष्ट्रिय अभ्यासअनुसार सबै देशको दायित्व भएको बताएको छ। तर यो प्रक्रिया सम्बन्धित व्यक्तिको राष्ट्रियता प्रमाणीकरणपछि मात्र लागू हुने स्पष्ट गरिएको छ।
भारतले यो प्रक्रिया कुनै विशेष नीतिभन्दा अन्तर्राष्ट्रिय रूपमा सर्वस्वीकार्य सिद्धान्त भएको दाबी गर्दै आएको छ।

















