३० जेठ, जनकपुर । अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त नेपाली सेफ सन्तोष साह बैंकिङ तथा ठगी कसुर मुद्दामा पक्राउ परेका छन् । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई शुक्रबार राति धनुषाको जनकपुरस्थित रामानन्द चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले साहसँगै उनका दाजु नाता पर्ने नारायण साहलाई समेत पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार, शकुन्तला अधिकारी (थापा) ले दिएको किटानी जाहेरीका आधारमा उनीहरूमाथि कानुनी कारबाही अघि बढाइएको हो । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति (वारेन्ट) जारी भएलगत्तै उपत्यकाबाट खटिएको प्रहरी टोलीले स्थानीय प्रहरीको समन्वयमा दुवै जनालाई जनकपुरबाट समातेको हो ।
सन्तोष साहमाथि काठमाडौँको बालुवाटार नजिकै गैरीधारामा रहेको एक चल्तीको रेस्टुरेन्ट खरिद गर्ने क्रममा ठगी र बैंकिङ कसुर गरेको गम्भीर आरोप छ । उक्त रेस्टुरेन्ट साहले १ करोड ३० लाख रुपैयाँमा खरिद गर्ने सम्झौता गरेको र सोही सम्झौता बमोजिम तिर्नुपर्ने ठूलो रकम लामो समयसम्म भुक्तानी नगरी पीडितलाई झुक्याएको जाहेरीमा उल्लेख छ । बाँकी रकम भुक्तानीका लागि दिइएका चेकहरू समेत बैंकबाट ‘बाउन्स’ भएपछि पीडित पक्ष कानुनी उपचारका लागि प्रहरीकहाँ पुगेको थियो ।
‘मास्टरसेफ द प्रोफेसनल्स’ जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपाली परिकारलाई विश्वमञ्चमा चिनाएर चर्चाको शिखरमा पुगेका साह पछिल्लो समय नेपालमै विभिन्न व्यवसायमा संलग्न रहँदै आएका थिए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि काठमाडौँ ल्याईदै गरेको र अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइने उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
















