Logo

 १ असार,महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सर्पले डसेका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। अत्यधिक गर्मीसँगै सर्पको सक्रियता बढेपछि अस्पतालमा दैनिक औसत पाँच जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार हालका दिनमा विषरहित तथा विषालु दुवै प्रकारका सर्पले डसेका बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन्। खेतबारी तथा खुला क्षेत्रमा काम गर्ने क्रममा सर्पदंशका घटना बढी देखिएको उनले बताए।

उनका अनुसार जिल्लामा विषरहित ढोरिया र हरहरा तथा विषालु करेत र गोमन सर्प बढी पाइने गरेका छन्। अधिकांश बिरामी विषरहित सर्पदंशका भए पनि केही गम्भीर अवस्थाका विषालु सर्पदंशका केसहरू पनि आउने गरेका छन्।

अस्पतालको तथ्याङ्कअनुसार गत वैशाखमा २३ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए भने जेठ महिनामा यो संख्या बढेर ५६ पुगेको छ।

महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिकामा गर्मीयामसँगै सर्पदंशको जोखिम उच्च रहने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। साथै सीमापारी भारतका विभिन्न क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ।

अस्पताल प्रशासनका अनुसार सर्पदंश उपचारका लागि आवश्यक एन्टिभेनम (विषरोधक औषधि) पर्याप्त मात्रामा उपलब्ध भएकाले उपचारमा समस्या छैन। तर, आइसियु कक्षको अभावका कारण गम्भीर अवस्थाका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ।

स्वास्थ्यकर्मीहरूले गर्मीयाममा विशेष सतर्कता अपनाउन, खेतबारी तथा झाडी क्षेत्रमा काम गर्दा सावधानी अपनाउन र सर्पदंश भएमा ढिलो नगरी अस्पताल पुग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।


सम्बन्धित समाचार