Logo

१ असार, काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्रका अति विपन्न नागरिकहरूको आवासको समस्या सम्बोधन गर्न विशेष कार्यक्रम अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशका १ हजार अति विपन्न परिवारको घर निर्माणका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेका छन् । सामाजिक न्याय र आधारभूत आवश्यकताको परिपूर्तिका लागि सरकारले आवास निर्माणलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको हो ।

प्रदेशका विपन्न वर्गलाई सुरक्षित र व्यवस्थित आवास प्रदान गर्ने उद्देश्यले सरकारले यस वर्ष यो महत्वाकांक्षी कार्यक्रम सुरु गरेको हो । मन्त्री तामाङले बजेट भाषणका क्रममा सरकारले नागरिकको जीवनस्तर उकास्न र गरिबी निवारणका लागि लक्षित वर्गको घर निर्माण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस कार्यक्रमले घरबारविहीन र जोखिमपूर्ण अवस्थामा बसोबास गरिरहेका अति विपन्न परिवारहरूलाई ठुलो राहत दिने अपेक्षा गरिएको छ ।

यसैबीच, बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रीपरिषदबाट स्वीकृत भएको छ । बजेट भाषण अघि बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आवको बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको हो । बागमती सरकारले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ । मन्त्रिपरिषद् बैठक पछि प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आव २०८२र८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।


सम्बन्धित समाचार