१ असार,काठमाडौं । लागुऔषध तस्करीका लागि नेपाललाई ‘ट्रान्जिट’ का रूपमा प्रयोग गर्ने क्रम अझै रोकिएको छैन ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँको ठमेलबाट डेढ किलो कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इथियोपियाबाट दोहा हुँदै नेपाल आएका सेनेगलका ४३ वर्षीय नागरिक आमादु सार र सो कोकिन बुझ्न नयाँ दिल्लीबाट काठमाडौँ आएका दुई भारतीय महिला—३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन् ।
तस्करीको यो शैली अत्यन्तै जोखिमपूर्ण र अमानवीय देखिएको छ । जेठ २६ गते काठमाडौँ ओर्लिएका सारलाई ब्युरोले शङ्काका आधारमा निगरानीमा राखेको थियो । ठमेलको एक होटलमा फेला परेका उनको मुखबाट सुरुमा १६ वटा कोकिन क्याप्सुल बरामद भएको थियो। थप स्वास्थ्य परीक्षण गर्दा उनको पेटभित्र थप ६० वटा क्याप्सुल रहेको रहस्य खुलेको थियो । चिकित्सकहरूको सहयोगमा निकालिएका कुल ७६ वटा क्याप्सुलबाट १ किलो ५०० ग्राम कोकिन बरामद गरिएको हो ।
प्रहरी अनुसन्धानका क्रममा उक्त कोकिनको ‘रिसिभर’ का रूपमा भारतीय महिलाहरू काठमाडौँ आएको खुलेको थियो। सोही सूचनाका आधारमा प्रहरीले आइतबार दुवै महिलालाई ठमेलबाटै पक्राउ गरेको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार उनीहरूका साथबाट राहदानी, आधार कार्ड र तीन थान मोबाइलसमेत बरामद गरिएको छ । पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनबमोजिम म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।
















