१ असार,वीरगञ्ज । विभिन्न चार वटा मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ निवासी ३४ वर्षीय राजेश सहनी रहेका छन्। उनलाई वीरगञ्ज महानगरपालिका–१२ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन विशेष टोलीले जेठ २९ गते साँझ करिब ६ बजे सहनीलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए।
प्रहरीका अनुसार सहनीविरुद्ध बैंकिङ कसूर तथा चेक अनादरसम्बन्धी चार वटा मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला भइसकेको थियो।
पर्सा जिल्ला अदालतको २०८१ असार ३० गतेको फैसलाअनुसार बैंकिङ कसूर मुद्दामा उनलाई २ दिन कैद तथा ३ लाख ६० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।
त्यसैगरी, काठमाडौं जिल्ला अदालतको २०८१ असार ९ गतेको फैसलाअनुसार अर्को बैंकिङ कसूर मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो।
यस्तै, चेक अनादरसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा पर्सा जिल्ला अदालतले २०८१ मङ्सिर २५ गते र २०८० असार २६ गतेको फैसलामार्फत जनही १ हजार रुपैयाँका दरले जरिवाना सजाय तोकेको थियो।
पक्राउ परेका सहनीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि पर्सा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
















