Logo

३ असार, काठमाडौँ । स्टार स्ट्राइकर एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनको मद्दतले २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान सम्पन्न समूह ‘आई’ को खेलमा नर्वेले इराकलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

पछिल्लोपटक सन् १९९८ को विश्वकप खेलेको नर्वे त्यसयता छनोट हुन सकेको थिएन। २८ वर्षपछिको यो पुनरागमन खेललाई नर्वेले सम्झनायोग्य बनाएको छ ।

नर्वेको सानदार जितमा एर्लिङ हालान्डले दुई तथा लियो ओस्टिगार्डले एक गोल गरे भने नर्वेले एक गोल उपहारस्वरूप पायो। इराकका लागि आयमन हुसेनले एक सान्त्वना गोल फर्काए ।

खेलको २९औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, नर्वेको त्यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ३९औं मिनेटमा इराकका हुसेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा अर्थात् ४३औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः २–१ को अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नर्वेले दोस्रो हाफमा पनि खेललाई आफ्नो नियन्त्रणमा राख्यो। खेलको ७६औं मिनेटमा नर्वेका डिफेन्डर लियो ओस्टिगार्डले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीको अग्रता ३–१ मा पुर्‍याए ।

खेलको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा इराकका तर्फबाट आत्मघाती गोल हुन पुग्यो। इराकका हुसेनले प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिरेपछि नर्वेले चौथो गोल उपहार पायो र खेल ४–१ को स्थितिमा सकियो ।

यो सानदार जितसँगै ३ अंक जोडेको नर्वे गोलअन्तरका आधारमा समूह ‘आई’ को शीर्ष स्थानमा उक्लिएको छ । समान ३ अंक नै जोडेको विश्वविजेता फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा पराजय बेहोरेका सेनेगल र इराक भने अंकविहीन रहँदै तालिकाको पुछारमा छन्। १९९८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको नर्वेले यसपटकको सुखद सुरुआतसँगै अघिल्लो चरण प्रवेशका लागि बलियो सम्भावना देखाएको छ ।


सम्बन्धित समाचार
भर्खरै