३ असार, काठमाडौं । नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोविच सुरोभत्सेभले वीरगन्ज चिनी कारखाना तथा जनकपुर चुरोट कारखानाजस्ता बन्द अवस्थामा रहेका औद्योगिक प्रतिष्ठानहरूलाई पुनः सञ्चालनयोग्य बनाउन रुस तयार रहेको बताएका छन्।
बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट औपचारिक अनुरोधसहित आवश्यक विवरण प्राप्त भएमा रुसी पक्षले आवश्यक सहयोग गर्न तत्पर रहेको जानकारी दिएका हुन्।
करिब दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानाको पुनः सञ्चालनका लागि रुसले प्राविधिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सक्ने संकेत दिएको छ। साथै, उनले जलविद्युत, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि नेपालसँग सहकार्य विस्तार गर्न रुस इच्छुक रहेको बताए।
भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र रुसी महासंघबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध कायम रहँदै आएको उल्लेख गरे। उनले यस वर्ष नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुन लागेको स्मरण गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताए।
उपराष्ट्रपति यादवले पछिल्लो समय दुई देशबीच सांस्कृतिक तथा जनस्तरमा बढ्दै गएको आदानप्रदानप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ र व्यापक हुने विश्वास व्यक्त गरे।
सो अवसरमा उनले रुसी महासंघको राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै रुसी जनताको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका थिए।
















