Logo

५ असार,वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ खेस्रौलस्थित माझी समुदायको बस्तीमा विपन्न तथा आवासविहीन परिवारका लागि निर्माण हुन लागेका २८ वटा सुरक्षित आवासको बिहीबार शिलान्यास गरिएको छ।

लुमन्ती आवासका लागि सहयोग समूह र जीतपुरसिमरा उपमहानगरपालिकाको साझेदारीमा सञ्चालन हुने परियोजनाको नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा नगर प्रमुख पौडेलले सम्मानजनक जीवनका लागि सुरक्षित आवास आधारभूत आवश्यकता भएको बताउँदै स्थानीय सरकार नागरिकलाई व्यवस्थित बसोबासको व्यवस्था उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकाससँगै आवास क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

परियोजना अन्तर्गत निर्माण हुने प्रत्येक घरको लागत ३ लाख ५१ हजार ८ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। लुमन्ती आवासका लागि सहयोग समूहका कार्यक्षेत्र संयोजक अब्दुल कैसका अनुसार प्रतिघर २ लाख ५१ हजार ८ सय ५० रुपैयाँ संस्थाले व्यहोर्नेछ भने १ लाख रुपैयाँ उपमहानगरपालिकाले उपलब्ध गराउनेछ। लाभग्राही परिवारले श्रमदानमार्फत निर्माण कार्यमा प्रत्यक्ष सहभागिता जनाउने व्यवस्था गरिएको छ।

कार्यक्रमका वक्ताहरूले आवासलाई केवल घर निर्माणको विषय नभई सामाजिक सुरक्षा, आत्मसम्मान र जीवनस्तर सुधारसँग जोडिएको आधारभूत अधिकारका रूपमा व्याख्या गरेका थिए। विशेषगरी माझी समुदायका परिवारलाई सुरक्षित बसोबासको अवसर उपलब्ध गराउन परियोजना प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको थियो।

स्थानीय बासिन्दाले वर्षौंदेखि भोग्दै आएको आवास समस्याको समाधानतर्फ यो पहल महत्वपूर्ण कदम भएको बताएका छन्। निर्माण सम्पन्न भएपछि २८ परिवार प्रत्यक्ष लाभान्वित हुनेछन्। वडा नं. ११ का अध्यक्ष बिन्दालाल साहका अनुसार योजनाले सुरक्षित तथा व्यवस्थित आवासको व्यवस्था मात्र नभई समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्‍याउनेछ।

दीपेन्द्र माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य सुरेश प्रसाद यादव, समाजसेवी दीपलाल राम, जनप्रतिनिधि, लुमन्तीका प्रतिनिधि, स्थानीय अगुवा तथा लाभग्राही परिवारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लुमन्ती आवासका लागि सहयोग समूहले जीतपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा वडा नं. ९, ११, १९ र २० मा गरी कुल १ सय ४० वटा आवास निर्माण गरिरहेको छ। वडा नं. ९ मा लक्षित ३५ घरमध्ये २५ वटा निर्माण सम्पन्न भइसकेका छन् भने १० वटा अन्तिम चरणमा रहेका छन्। वडा नं. १९ मा निर्माणाधीन ३६ घरमध्ये २७ वटा तयार भइसकेका छन् भने वडा नं. २० मा निर्माणाधीन ३५ घरमध्ये करिब ८० प्रतिशत काम सम्पन्न भएको सामाजिक परिचालक रवि तिवारीले जानकारी दिनुभयो।

विपन्न, सीमान्तकृत तथा आवासविहीन परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउने उद्देश्यले सञ्चालित यो कार्यक्रमले माझी समुदायसहित कमजोर आर्थिक अवस्था भएका परिवारको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार