Logo

८ असार, काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३८ अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ मूल्यको ७ लाख ११ हजार ५ सय २० टन धानचामल विदेशबाट भित्रिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयातको परिमाण र रकममा सामान्य गिरावट आए पनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा अर्बौँ रुपैयाँ बाहिरिने क्रम जारी नै छ ।

आयातको प्रवृत्ति हेर्दा स्वदेशमै धान कुटेर चामल बनाउने भन्दा पनि तयारी चामल नै आयात गर्ने प्रवृत्ति बढेको देखिएको छ । तथ्याङ्कअनुसार कच्चा धानको आयात घटेको भए तापनि तयारी बासमती चामल, अन्य सामान्य चामल र कनिकाको आयातमा भने उल्लेखनीय वृद्धि भएको छ ।

चालु आवमा १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँको कच्चा धान आयात भएको छ भने ७ अर्ब ८६ करोडको बासमती चामल र ११ अर्ब ८ करोडभन्दा बढीको अन्य चामल आयात भएको छ। धानको बिउ आयातमा पनि सामान्य वृद्धि देखिएको छ ।

धानचामलको आयातबाट प्राप्त हुने राजस्वमा भने गत वर्षको तुलनामा ठूलो गिरावट आएको छ । गत आवको ११ महिनामा ३ अर्ब ५३ करोड रुपैयाँ राजस्व सङ्कलन भएकोमा यस वर्ष घटेर २ अर्ब ६१ करोड ६२ लाखमा सीमित भएको छ । कृषिप्रधान देश भनिए पनि बर्सेनि ठूलो परिमाणमा चामल आयात हुनुले मुलुकको खाद्यान्न परनिर्भरतालाई थप उजागर गरेको छ ।


सम्बन्धित समाचार