८ असार, काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासतभित्रै प्रवेश गरी ज्यान मार्ने धम्की र मानसिक दबाब दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।
सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा रहेकाहरूलाई अनधिकृत रूपमा पहुँच पुर्याई धम्क्याएको भन्दै अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर कारबाहीको माग गरेका हुन् । गत जेठ १९ गते भारतीय दूतावास अगाडि सीमा समस्याविरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका निवेदकहरूले हिरासतमा राखिएको केही समयमै गृहमन्त्री गुरुङसहितको टोलीले भित्र प्रवेश गरी गालीगलौज र धम्की दिएको दाबी गरेका छन् ।
उजुरीमा राज्यको जिम्मेवार पदमा बसेका व्यक्तिबाटै भएको यस किसिमको शक्ति र पदको दुरुपयोग गम्भीर मानव अधिकार उल्लंघन भएको उल्लेख गरिएको छ । पीडितहरूले आयोगलाई उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, सोह्रखुट्टे वृत्तको सीसीटीभी फुटेज र आगन्तुक अभिलेख नियन्त्रणमा लिन तथा दोषीमाथि फौजदारी कसुरमा मुद्दा चलाउन जोडदार माग गरेका छन् ।
साथै, संवेदनशील क्षेत्र मानिने हिरासत कक्षमा अनधिकृत व्यक्तिलाई प्रवेश गराउने प्रहरी कर्मचारीमाथि समेत विभागीय कारबाही हुनुपर्ने उनीहरूको माग छ । यस घटनाले हिरासतभित्रको सुरक्षा र राज्यको जवाफदेहितामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।
















