८ असार,काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ। संक्रमणपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा भर्ना भएका ४८ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको हो।
अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार ती पुरुष असार ५ गते अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको भोलिपल्ट अर्थात् शनिबार उनको मृत्यु भएको उनले जानकारी दिए।
अधिकारीका अनुसार मृतकले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएका कारण संक्रमण जटिल बनेको थियो। चिकित्सकहरूका अनुसार रेबिजको लक्षण देखिइसकेपछि यसको मृत्युदर लगभग शतप्रतिशत हुने भएकाले समयमै खोप लगाउनु नै सबैभन्दा प्रभावकारी बचाउको उपाय हो।
स्वास्थ्यकर्मीहरूका अनुसार रेबिज भाइरसले स्नायु प्रणालीमा आक्रमण गरी घाँटी तथा सास फेर्ने नलीका मांसपेशीहरूलाई प्रभावित बनाउँछ। संक्रमण गम्भीर बन्दै जाँदा बिरामीलाई पानी निल्न कठिन हुने, पानी देख्दा वा निल्न खोज्दा असह्य पीडा हुने तथा अत्यधिक डर लाग्ने लक्षण देखापर्छन्।
चिकित्सकका अनुसार संक्रमण बढ्दै जाँदा शरीरका विभिन्न अंगहरूले क्रमशः काम गर्न छाड्ने र अन्ततः बिरामीको मृत्यु हुने जोखिम अत्यधिक हुन्छ।
स्वास्थ्य विज्ञहरूले कुकुर वा अन्य संक्रमित जनावरले टोकेको अवस्थामा तत्काल घाउ सफा गरी स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।















