९ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटलाई लिएर सत्ता साझेदार दल नेकपा (एमाले) ले कडा असन्तुष्टि जनाएको छ ।
सरकारले बजेट विनियोजन गर्दा आफूहरूसँगको सहमति र संयुक्त सरकारको मर्मलाई लत्याएर एकलौटी ढङ्गले अघि बढेको भन्दै एमालेले सरकारबाट बाहिरिने चेतावनी दिएको हो । धनगढीमा सम्पन्न एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले बजेटका त्रुटिपूर्ण पक्षहरू तत्काल सच्याउन सरकारलाई अल्टिमेटम दिएको छ ।
पार्टीका प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा बजेटले सरकारको साझा नीति तथा कार्यक्रम र सहकार्यको भावनालाई पूर्णतः बेवास्ता गरेको उल्लेख छ । एमालेले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई समेत कडा निर्देशन दिने निर्णय गरेको छ ।
‘यदि हाम्रो मागलाई सम्बोधन गरिएन र बजेटमा आवश्यक सुधार गरिएन भने हामी यस संयुक्त सरकारमा सहभागी भइरहन सक्दैनौँ,’ विज्ञप्तिमा भनिएको छ । प्रदेश सरकारको बजेटप्रति सत्तापक्षका सांसदहरूबाटै यस्तो कडा आलोचना र चेतावनी आएपछि सुदूरपश्चिमको राजनीतिक समीकरणमा हलचल पैदा भएको छ ।

















