Logo

११ असार, काठमाडौँ । फिफा विश्वकपमा कतारलाई ३-१ ले पराजित गर्दै बोस्निया र हेर्जेगोभिनाले अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गर्ने सम्भावनालाई बलियो बनाएको छ।

सेर्गेज बारबारेजको टोली समूह बी मा विजेता स्विट्जरल्याण्ड र क्यानडापछि तेस्रो स्थानमा रह्यो । तेस्रो म्याचडेको समाप्तिसँगै अर्को चरणको यात्रा निश्चित हुनेछ।

खेलको सुरुवातदेखि नै बोस्नियाली टोली कतारमाथि हाबी देखिएको थियो, जसका कारण कतारी गोलकिपर महमुद अबुनादाले सुरुवाती चरणमै धेरै पटक बचाउ गर्नुपरेको थियो ।

द ड्रैगन्स उपनामले चिनिने बोस्नियाको यो दबाब अन्ततः फलदायी साबित भयो। १८ वर्षीय युवा खेलाडी केरिम अलाइबेगोभिचले विश्वकप सुहाउँदो उत्कृष्ट सोलो गोल गर्दै सिएटलको मैदानमा सबैलाई मन्त्रमुग्ध पारे ।

आफ्नो देशका लागि विश्वकप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका यी किशोरले मैदानको भित्री भागमा बल बढाउँदै कतारका दुई खेलाडीलाई छक्याएर दाहिने खुट्टाले उत्कृष्ट प्रहार गर्दै बललाई पोस्टको माथिल्लो कुनामा पुर्‍याए ।

आफ्नो १५०औँ खेल खेलिरहेका कप्तान एडिन जेकोको नेतृत्वमा मैदान उत्रिएको बोस्निया र हेर्जेगोभिनाले कतारी गोलकिपर अबुनादाको आत्मघाती गोलको मद्दतले आफ्नो अग्रता दोब्बर बनायो ।

जेकोको हाफ(भली प्रहार कतारका लेफ्ट-ब्याक सुल्तान अल-ब्रेकको तिघ्रामा ठोक्किएर निरह बनेका गोलकिपरलाई लाग्दै गोलपोस्टको भित्र पसेको थियो ।

बोस्निया बलियो स्थितिमा पुगिसकेको भए पनि कतारले हाफ(टाइम अघि नै खेलमा फर्कने प्रयास गर्‍यो । एडमिल्सन जुनियरले देब्रे तर्फबाट निकालेको पासलाई कप्तान हसान अल(हैदोसले प्रहार गर्दै नजिकैको दुरीबाट गोलमा परिणत गरे र खेललाई २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफमा कतारले बराबरी गोलका लागि निकै संघर्ष गर्‍यो । प्रशिक्षक जुलेन लोपेटेगुईले खेलको बीचतिर देशका लागि सबैभन्दा बढी गोल गर्ने कीर्तिमानी खेलाडी अल्मोज अलीलाई पनि मैदानमा उतारेका थिए ।

तर, कतारको त्यो प्रयास सफल हुन सकेन । खेलको अन्त्यतिर बोस्नियाका वैकल्पिक खेलाडी एर्मिन माहमिचको प्रहार डिफ्लेक्ट (अर्कै खेलाडीलाई लाग्दै) हुँदै जाली चुमेपछि बोस्निया र हेर्जेगोभिनाले नकआउट चरणको सम्भावना पक्का गर्‍यो ।

यो पराजयसँगै कतार समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ भने युरोपेली टोली बोस्नियाले नकआउट चरणको आफ्नो भाग्यको फैसला पर्खिनेछ ।


सम्बन्धित समाचार