Logo

११ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले ९९ पदका लागि विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको जानकारी दिए ।

मतदान आज बिहान १० बजेसम्म जारी रहने उनको भनाइ छ। रास्वपा महाधिवेशनमा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

९९ केन्द्रीय सदस्यका लागि ३ सय ८४ जनाले उम्मेदवारी दिएका थिए। ती मध्ये ३४५ जना मैदानमा छन्। मनोनयन दर्तामा कडा व्यवस्था राख्दा पनि यति धेरैको मनोनयन भएको छ ।

केन्द्रीय सदस्यको मनोनयनका लागि १ प्रस्तावक र २१ जना समर्थक चाहिन्छ। २१ हजार शुल्क बुझाउनुपर्छ। यस्तो व्यवस्था गरिँदा पनि उम्मेदवारको संख्या यति धेरै भएको छ। रास्वपामा नेता बन्न ठूलै हानथाप देखिएको छ ।

रास्वपाको विधानअनुसार सभापति र ९९ केन्द्रीय सदस्यको पहिलो चरणमा निर्वाचन हुने व्यवस्था छ। सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसकेका छन् । उता ९९ केन्द्रीय सदस्य (भूगोल ३५ र खुला ६४) जनाका लागि मतदान हुने व्यवस्था छ। वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहको निश्चित नै छ ।

पहिलो चरणमा निर्वाचन भएका ९९ जनाबाट पदाधिकारीको दोस्रो चरणमा निर्वाचन हुनेछ। १९ पदाधिकारीमध्ये मात्रै ८ जनाको निर्वाचन हुनेछ, जसमा सभापति निर्विरोध भइसकेकाले अब १ महिलासहित २ उपसभापति, १ महामन्त्री र एक महिलासहित ३ सहमहामन्त्रीको निर्वाचन हुनेछ। १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता र ३ सहप्रवक्ताको मनोनयन सभापतिले गर्ने व्यवस्था छ ।

वर्तमान विधानअनुसार रास्वपाको पदाधिकारीमा १ सभापति, ३ उपसभापति, २ महामन्त्री, ५ सहमहामन्त्री, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, १ प्रवक्ता र ३ सहप्रवक्ताको व्यवस्था छ ।

विधानमा १ सय ५८ जना केन्द्रीय कमिटीको व्यवस्था छ, जसमा ७ जना प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुनेछन् । बाँकी १ सय ५१ मा ९९ जना निर्वाचनबाट आउने छन् भने ५१ जना सभापतिले मनोनित गर्ने छन् ।


सम्बन्धित समाचार