Logo

११ असार, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा गएराति खसेको पहिरोमा परी एक जना चालकको ज्यान गएको छ ।
गएराति करिब २ बजेको समयमा माथिबाट खसेको ढुङ्गासहितको लेदोले सडकमा गुडिरहेको ईभी गाडीलाई पूर्ण रूपमा पुरेको छ ।

यस दुर्घटनामा परी गाडी चालक, पर्साको वीरगन्ज महानगरपालिका-२१ निवासी २३ वर्षीय सोहेल मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारका लागि घटनास्थल पुगेको थियो । उद्धार टोलीले गाडीभित्रबाट चालक मियालाई बाहिर निकाली उपचारका लागि बेनी अस्पताल पुर्‍याए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

गाडीमा चालकबाहेक अन्य यात्रु थिए वा थिएनन् भन्ने विषयमा प्रहरीले हालसम्म केही खुलाएको छैन । पहिरोले सडक पुरेपछि अहिले बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । अवरुद्ध सडक खुलाउनका लागि हाल पहिरो पन्छाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार