१२ असार,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण प्रतिवेदन र विधेयकहरू पेश तथा पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३ प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयकहरू सदनमा पेश गरिने कार्यसूची रहेको छ।
बैठकमा आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल हुने, प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम पनि तय गरिएको छ।
यस्तै, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल, संशोधनमाथि निर्णय तथा विधेयक पारित गर्ने प्रस्ताव पनि अर्थमन्त्रीले प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।
यसअघि बिहीबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अधिकांश सांसद महाधिवेशनका लागि चितवनमा रहेकाले बैठक प्रभावित भएको बताइएको छ।

















