१२ असार, काठमाडौं । आसन्न महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पदको चुनावी प्रतिस्पर्धा निकै रोचक र पेचिलो बनेको छ ।
शुक्रबार बिहान पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहित प्रभावशाली नेताहरू गणेश पराजुली, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले औपचारिक रूपमा विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेसँगै चुनावी समीकरणले नयाँ मोड लिएको छ । संस्थापन र संस्थापन इतरका प्रभावशाली अनुहारहरू एकै ठाउँमा उभिएपछि आचार्यको पक्षमा बलियो माहोल बनेको विश्लेषण गरिएको छ ।
यता, महामन्त्री पदकै लागि अर्कोतर्फ बहुआयामिक व्यक्तित्वहरूको कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल आमनेसामने हुने भएका छन् ।
पछिल्लो समय प्रखर वक्ता र स्पष्ट दृष्टिकोण राख्ने नेताका रूपमा चिनिएका यी चारै जना उम्मेदवारहरूले आ(आफ्नो एजेन्डासहित चुनावी मैदान तताएका छन् । एकअर्कालाई टक्कर दिने तयारीमा रहेका यी युवा नेताहरूको उम्मेदवारीले यस पटकको महाधिवेशनलाई निकै अर्थपूर्ण र प्रतिस्पर्धात्मक बनाएको छ ।
विपिन आचार्यले पाएको प्रभावशाली नेताहरूको साथले उनको आधार क्षेत्र सुरक्षित देखिए पनि मनिष, रञ्जु, गणेश र सागरको उम्मेदवारीले महामन्त्रीको प्रतिस्पर्धालाई थप पेचिलो बनाइदिएको छ । अबको नेतृत्व कसको पोल्टामा जाला भन्ने कुरा आम कार्यकर्ता र शुभेच्छुकका लागि चासोको विषय बनेको छ ।

















