१२ असार, काठमाडौं । व्यवसायी अजेय सुमार्गीको शङ्कास्पद कारोबारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको छ ।
करिब एक दशक पुरानो कारोबारमाथि छानबिन गर्दै विभागले अनुसन्धान अधिकृतहरूको विशेष टोली गठन गरेको छ । अनुसन्धानलाई प्रभावकारी बनाउन र व्यवसायी सुमार्गीलाई विदेश जानबाट रोक्न विभागले उनको राहदानी (पासपोर्ट) समेत रोक्काका लागि अध्यागमन विभागलाई पत्राचार गरिसकेको छ ।
सुमार्गीमाथि मुख्य रूपमा वैदेशिक लगानीको आवरणमा गैरकानूनी र शङ्कास्पद रकम नेपाल भित्र्याएको गम्भीर आरोप छ। अनुसन्धानको प्रारम्भिक विवरणअनुसार, उनले कर सहुलियतका लागि चिनिने ‘ट्याक्स हेभन’ मानिने साइप्रस र ब्रिटिश भर्जिन आइल्याण्डजस्ता मुलुकहरूबाट आफ्नो लगानी रहेका स्याटेलाईट टेलिकम र मुक्तिश्री सिमेन्टलगायतका कम्पनीमा ठूलो परिमाणमा रकम भित्र्याउने प्रयास गरेका थिए ।
रोचक तथ्य त के छ भने, रकम पठाउने व्यक्ति र प्राप्त गर्ने कम्पनीको मालिक एउटै व्यक्ति (सुमार्गी आफैँ) रहेको कागजातहरूबाट पुष्टि भएको छ । एकै व्यक्तिले आफ्नो कम्पनीमा ‘ऋण लगानी’ भन्दै रकम पठाउनु सम्पत्ति शुद्धीकरण निवारण ऐनको बर्खिलाप हुने भन्दै विभागले यसलाई शङ्कास्पद ठहर गरेको छ ।
लामो समयदेखि राजनीतिक संरक्षण र कानुनी उल्झनका कारण अवरुद्ध हुँदै आएको यो अनुसन्धानले अहिले नयाँ मोड लिएको छ । अध्ययनअनुसार, सुमार्गीले विगतमा करिब १२ अर्ब रुपैयाँ भित्र्याइसकेका थिए भने सोही हाराहारीको रकम भित्र्याउने तयारीमा थिए ।
तत्कालीन विनिमय दरमा करिब २२ अर्ब बराबर देखिएको उक्त रकम हालको दरअनुसार ४४ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । वर्षौँदेखि राजनीतिक हस्तक्षेपका कारण ओझेलमा परेको यो प्रकरणलाई अहिले विभागले तार्किक निष्कर्षमा पुर्याउने दाबी गरेको छ । लामो समयदेखिको अनुसन्धानले अब सुमार्गीको आर्थिक कारोबारको असली रूप छिट्टै बाहिर ल्याउने संकेत गरेको छ ।

















